रौतहट, २० पुष / सशस्त्र प्रहरी बल, नेपालको २५ औँ वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फतुहा रौतहटको आयोजनामा शैक्षिक तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । रौतहटको राजपुर नगरपालिका–३, बलुवास्थित श्री किसान माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा “लागुऔषध, सीमा सुरक्षा र युवा” शीर्षकमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
समाजमा बढ्दो लागुऔषध दुव्र्यसन, खुला सीमा व्यवस्थापनको चुनौती र त्यसमा युवाको भूमिका जस्ता विषयवस्तुहरूलाई केन्द्रमा राखेर विद्यार्थीहरूले आफ्ना विचार प्रस्तुत गरेका थिए । यसले विद्यार्थीहरूमा सामाजिक जिम्मेवारीबोध र राष्ट्रप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।
निबन्ध लेखन प्रतियोगितामा कक्षा १० मा अध्ययनरत छात्रा सुराती साह उत्कृष्ट हुन सफल भइन् भने वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत छात्र फिर्दोस आलम प्रथम भएका थिए । दुवै प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस फतुहा रौतहटका बेसपति सशस्त्र प्रहरी निरीक्षक सुवाश पहाडीले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा निरीक्षक पहाडीले विद्यार्थीहरूलाई सम्बोधन गर्दै लागुऔषध दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे प्रकाश पार्नुभयो । उहाँले खुला सीमाका कारण लागुऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि बढ्ने जोखिम रहेकाले यसविरुद्ध सचेत र सतर्क रहन युवाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । साथै उहाँले सडक दुर्घटनाका कारण हुने मानवीय तथा भौतिक क्षतिबारे जानकारी दिँदै सुरक्षित यात्राको महत्वसमेत स्पष्ट पार्नुभयो ।
कार्यक्रमकै क्रममा लागुऔषध दुव्र्यसन र सडक दुर्घटना सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरिएको थियो । सो कक्षाबाट विद्यार्थीहरूले दैनिक जीवनमा अपनाउनुपर्ने सावधानी, कानुनी प्रावधान र आत्मअनुशासनको आवश्यकता बारे उपयोगी ज्ञान प्राप्त गरेको विद्यालय प्रशासनले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपालले शान्ति सुरक्षा, सीमा सुरक्षा र विपद् व्यवस्थापनका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर गर्दै आएको छ । नागरिकलाई सुरक्षित वातावरणको प्रत्याभूति दिलाउनुका साथै विभिन्न सामाजिक, शैक्षिक र नैतिक विषयमा चेतनशील बनाउने कार्यमा सशस्त्र प्रहरी बल, नेपालको महत्वपूर्ण भूमिका रहेको सरोकारवालाहरूले बताएका छन् । कार्यक्रम विद्यालयका प्रधानाध्यापक ईजाजुल हकको समन्वयमा सम्पन्न भएको थियो । प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो । यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र सचेत नागरिक बन्न प्रेरणा दिने प्रधानाध्यापक हकले विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र सुरक्षा वेश फतुवाद्धारा शैक्षिक सचेतनामूलक कार्यक्रमको आयोजना

प्रकाशित:
शब्दको आकार



Comments