Skip to content

हरिहरपुरगढीमा राजनितिक दलको सदस्यता लिएका ६ शिक्षक-कर्मचारी निलम्बित

हरिहरपुरगढीमा राजनितिक दलको सदस्यता लिएका ६ शिक्षक-कर्मचारी निलम्बित
प्रकाशित:
शब्दको आकार

सिन्धुली । राजनीतिक दलको सदस्यता लिएको विषयलाई लिएर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा कार्यरत ६ जना शिक्षक तथा कर्मचारी निलम्बनमा परेका छन्। गाउँपालिकाले तीन जना शिक्षक र तीन जना कर्मचारीलाई फरक–फरक अवधिका लागि निलम्बन गरेको हो।
निलम्बनमा पर्नेमा जनकल्याण निम्न माध्यमिक विद्यालय, गुर्जीडाँडाका सुकराम घिसिङ र टेकबहादुर घिसिङ तथा कर्मीडाँडा चिसापानीस्थित माध्यमिक विद्यालयका शिक्षक अभिनाश भोलन छन्।
त्यस्तै, चिसापानी स्वास्थ्य इकाइकी कार्यालय सहयोगी कोपिला कुमारी भोलन, हरिहरपुरगढी गाउँपालिका वडा नं. १ कार्यालयका सहयोगी सन्तराम घिसिङ र गाउँपालिका कार्यालयका गाउँ प्रहरी जवान निलबहादुर वि.क. पनि कारबाहीमा परेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सदस्यता लिएको विवरण सार्वजनिक भएपछि गाउँपालिकाले सम्बन्धित व्यक्तिहरूलाई स्पष्टीकरण सोधेको थियो। उनीहरूले दिएको जवाफ सन्तोषजनक नभएपछि निलम्बन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले बताएका छन्।
निर्णयअनुसार शिक्षकहरू ९० दिन र कर्मचारीहरू ६० दिनका लागि निलम्बित भएका छन्।


दुई शिक्षक निलम्बनमा परेपछि विद्यालयमा पठनपाठन प्रभावित


प्रशासनिक कारबाहीसँगै गाउँपालिकाको शैक्षिक क्षेत्रमा यसको असर देखिन थालेको छ। एउटै विद्यालयका दुई शिक्षक निलम्बनमा परेपछि जनकल्याण निम्न माध्यमिक विद्यालयमा कक्षा सञ्चालन तथा शिक्षक व्यवस्थापनमा चुनौती थपिएको बताइएको छ।
शिक्षक अभावका कारण विद्यार्थीको नियमित पठनपाठन प्रभावित हुन सक्ने अवस्था रहे पनि त्यसको व्यवस्थापनका लागि गाउँपालिकाले के कदम चाल्छ भन्ने विषय स्पष्ट भइसकेको छैन।
राजनीतिक दलको सदस्यता लिएको विषयमा गरिएको यस कारबाहीपछि सम्बन्धित शिक्षक तथा कर्मचारीको आगामी प्रशासनिक अवस्थासँगै प्रभावित विद्यालयमा पठनपाठन कसरी सञ्चालन गरिन्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts