सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ। सोमबार हरिहरपुरगढी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय सिन्धुली, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीको संयुक्त टोलीले बजार अनुगमन गरेको हो।अनुगमन टोलीले हरिहरपुरगढी गाउँपालिका वडा नं. २ र ४ अन्तर्गत मदन भण्डारी लोकमार्ग आसपास सञ्चालनमा रहेका दुई वटा होटल तथा ८ वटा पसलको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखेको पाइएपछि दुई पसललाई कारबाही गरिएको छ। पटक–पटक सचेत गराउँदासमेत म्याद गुज्रिएका सामान बिक्रीवितरण गरेको पाइएपछि हरिहरपुरगढी–२ रतनपुर स्थित वर्णवाल सप्लायर्स र हरिहरपुरगढी–४ महेन्द्रझ्याडीस्थित उत्तम किराना पसलमाथि कारबाही गरिएको हो।वर्णवाल सप्लायर्सबाट करिब ४७ हजार ५ सय रुपैयाँ बराबरका म्याद गुज्रिएका सामान जफत गरी २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, उत्तम किराना पसलबाट करिब ८ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका सामान जफत गरी १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको नेतृत्वमा गरिएको अनुगमनमा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपाने, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुलीका प्रमुख टेकेन्द्रबहादुर थापामगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दिनेश सुवेदी, खाद्य निरीक्षक अतिश घिमिरेलगायत विभिन्न निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।

टोलीले व्यवसाय दर्ता तथा नवीकरण, स्थायी लेखा नम्बर (प्यान), अन्तःशुल्क, बिक्री बिल जारी गर्ने व्यवस्था, खाद्य अनुज्ञापत्र, मासु तथा मिठाइको गुणस्तर, ग्यासको तौल तथा मूल्य, खरिद बिल र यसअघि दिइएका निर्देशनको पालना भए/नभएको लगायत विषयमा अनुगमन गरेको थियो।
अनुगमनपछि व्यवसायीहरूलाई प्रचलित कानुन तथा मापदण्ड पालना गर्न आवश्यक निर्देशनसमेत दिइएको छ।





Comments