चन्द्रनिगाहपुर , १९ पुष / मुक्तिनाथ विकास बैंकले आयोजना गरेको मधेस प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा नमुना इङ्गलिस आवासीय विद्यालय, चन्द्रनिगाहपुरमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रजिना राई प्रथम हुन सफल हुनुभएको छ।मधेस प्रदेशभरबाट सहभागी १७० जना प्रतिस्पर्धी विद्यार्थीहरूलाई उछिनेर उत्कृष्ट स्थान हासिल गर्नुभएकी राईले प्रमाणपत्रसहित नगद रु. १० हजार पुरस्कार प्राप्त गर्नुभएको छ। उहाँको चित्रकलामा विषयवस्तुको गहिरो प्रस्तुति, सृजनशीलता र कलात्मक सौन्दर्य झल्किएको भन्दै निर्णायक मण्डलले उच्च मूल्याङ्कन गरेको जनाइएको छ।यस उपलब्धिप्रति विद्यालय परिवारले खुशी व्यक्त गरेको छ। विद्यालयका सञ्चालक लक्ष्मी श्रेष्ठले विद्यार्थीहरूको प्रतिभा अभिवृद्धि तथा उजागर गर्न विद्यालयले निरन्तर रूपमा विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको र त्यसकै परिणामस्वरूप यस्तो सफलता प्राप्त भएको बताउनुभयो। उहाँले विद्यार्थीको कडा मेहनत, शिक्षकहरूको मार्गदर्शन र अभिभावकको सहयोगले पनि सफलता सम्भव भएको उल्लेख गर्नुभयो।प्रतियोगितामा प्रथम हुन सफल भएपछि छात्रा राईले खुशी व्यक्त गर्दै आगामी दिनमा चित्रकला क्षेत्रमा अझ मेहनत गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विद्यालय र देशको नाम उजागर गर्ने लक्ष्य रहेको बताउनुभयो।यस सफलताले विद्यालयका अन्य विद्यार्थीहरूलाई पनि सिर्जनात्मक क्षेत्रमा अघि बढ्न थप प्रेरणा मिलेको विद्यालयले जनाएको छ।
प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा नमुनाकी राई प्रथम

प्रकाशित:
शब्दको आकार



Comments