सिन्धुली — हरिहरपुरगढी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि २५ लाख १६ हजार २५२ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–कर्मचारीबाट सहयोग रकम संकलन गर्नुका साथै गाउँपालिकाको विपद् व्यवस्थापन कोष र विविध शीर्षकबाट समेत रकम थप गरी राहत कोषमा पठाएको हो।
गाउँपालिकाका अनुसार जनप्रतिनिधिबाट ९० हजार ८ सय २२ रुपैया, गाउँपालिका कर्मचारीबाट ४ लाख ८३ हजार ८०७ रुपैयाँ र शिक्षक तथा कर्मचारीबाट १५ लाख ४१ हजार ६२३ रुपैयाँ संकलन भएको छ। त्यस्तै, विपद् व्यवस्थापन कोषबाट २ लाख र गाउँपालिकाको विविध शीर्षकबाट थप २ लाख रुपैयाँ (तीजको दरखाने शिर्षक )उपलब्ध गराइएको छ।
यसरी विभिन्न क्षेत्रबाट संकलित तथा गाउँपालिकाबाट थप गरिएको गरी कुल २५ लाख १६ हजार २५२ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले जानकारी दिनुभएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले उक्त रकम उपलब्ध गराएको जनाएको छ।





Comments