रौतहट, २० पुष / सशस्त्र प्रहरी बल, नेपालको २५ औँ स्थापना दिवस २०८२ को अवसरमा रौतहट जिल्लामा विपन्न तथा अति आवश्यक परिवारलाई लक्षित गरी न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार रौतहट जिल्लाको बी.ओ.पी. रामपुर खापको सहकार्यमा ईशनाथ नगरपालिका–४, रामनगर (चमटोल) क्षेत्रमा न्यानो कपडा वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गौर, रौतहटको सहयोग तथा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटको समन्वयमा बी.ओ.पी. रामपुर खापको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । चिसो मौसम र शीतलहरका कारण जनजीवन प्रभावित भइरहेका बेला नागरिकप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा ७० थान न्यानो कम्बल प्राप्त भई स्थानीय ७० जना विपन्न परिवारलाई वितरण गरिएको थियो । बी.ओ.पी. रामपुर खाप रौतहटका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालको कमाण्डमा ९ जना सशस्त्र प्रहरीको टोलीले न्यानो कपडा वितरण गरेको हो । वितरण कार्यक्रममा ईशनाथ नगरपालिकाका कार्यपालिका सदस्य हिरालाल राम तथा ईशनाथ नगरपालिका–४ का वडा सदस्य गगनदेव रामको रोहवर सम्पन्न भएको थियो ।
न्यानो कपडा वितरण कार्यक्रममा रामपुर टोलका अपाङ्ग व्यक्तिहरू, खाप टोलका दलित समुदायसहित अत्यन्त विपन्न अवस्थामा रहेका परिवारहरूलाई प्राथमिकतामा राखिएको थियो । कठ्याङ्ग्रिने जाडो र शीतलहरको समयमा कम्बल प्राप्त गरेपछि स्थानीय बासिन्दाहरूले राहतको अनुभूति गरेका छन् । स्थानीयले सशस्त्र प्रहरी बल, नेपालप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने बताएका छन् ।
कार्यक्रमका क्रममा सशस्त्र प्रहरी बल, नेपालले शान्ति सुरक्षा मात्र नभई सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरी निरिक्षक सुवालले बताउनुभयो । विपद् व्यवस्थापन, उद्धार, राहत वितरण तथा जनचेतनामूलक कार्यक्रममार्फत सशस्त्र प्रहरी बल जनताको साथमा सधैँ उभिँदै आएको उहाँको भनाइ छ ।
चिसोमा न्यानो कपडा पाउँदा स्थानिय खुसी भएका थिए । उनीहरूले चिसो मौसममा यस्तो सहयोग प्राप्त हुनु ठूलो राहत भएको प्रतिक्रिया दिएका छन् । सशस्त्र प्रहरी बल, नेपालले हरेक प्रकारका विपद् तथा कठिन परिस्थितिमा सबैभन्दा पहिले सहयोग र मद्दत गर्न अगाडि बढ्नु सराहनीय कार्य भएको स्थानियको भनाइ छ ।
यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूका कारण सशस्त्र प्रहरी बल, नेपालप्रति जनताको विश्वास र लोकप्रियता क्रमशः बढ्दै गएको कार्यपालिका सदस्य रामको भनाइ छ । नागरिकसँगको सहकार्य, सहयोग र सेवामार्फत समाजमा सकारात्मक छवि निर्माण गर्न सशस्त्र प्रहरी बल, नेपाल निरन्तर क्रियाशील रहेको उहाँले बताउनुभयो ।
२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रौतहटमा न्यानो कपडा वितरण

प्रकाशित:
शब्दको आकार



Comments