युभास श्रेष्ठ: नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले ३१औं विश्व आदिवासी दिवसको अवसरमा श्रावण २४ गते (अगष्ट ९) देखि २८ गतेसम्म विविध कार्यक्रमसहित सप्ताहव्यापी उत्सव मनाउने घोषणा गरेको छ। ‘प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट्रसंघका घोषणा पत्र (UNDRIP) र आईएलओ १६९ अनुसारको सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरौं’ भन्ने मूल नारासहित उत्सव आयोजना गरिने भएको हो।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेफिनले राजधानीमा ५ हजारभन्दा बढीको सहभागिता रहने सांस्कृतिक झाँकी र जातीय पहिचान झल्किने भव्य र्याली निकालिने जानकारी दिएको छ। र्याली श्रावण २४ गते बिहान ११ बजे भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, वीर अस्पताल, रत्नपार्क, पूरानो बसपार्क हुँदै प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह पुगेर मूल समारोहमा परिणत हुनेछ।
नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाका अनुसार, दिवस आदिवासी जनजातिहरुको सांस्कृतिक, भाषिक, धार्मिक तथा मौलिक पहिचान स्थापित गर्ने, थातथलोको संरक्षण र मौलिक ज्ञानको प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गरिनेछ। यसपटकको उत्सवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बहस र पैरवीको महत्त्वपूर्ण थलो बनाउने उद्देश्य राखिएको छ।
उत्सवको मूल समारोह श्रावण २४ गते राष्ट्रिय सभागृहमा आयोजना हुनेछ, जहाँ सूचना तथा संचार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नेछन्। समारोहमा विभिन्न जातीय भेषभूषा, मातृभाषामा गीतसंगीत, लोककलाको प्रदर्शन र आदिवासी जनजातिहरुको खानाका परिकार प्रस्तुत गरिनेछ।
नेफिनका महासचिव दिवस राईका अनुसार, राजधानीका सडकहरु आदिवासी सांस्कृतिक रैथाने पहिचानका स्वरहरुसँग गुञ्जिने छन्। पाँच हजारभन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ भने सभाहलबाहिर कार्यक्रम प्रत्यक्ष प्रशारणको समेत तयारी गरिएको छ।
कार्यक्रममा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय लिएवापत बागमतीका पूर्वमुख्यमन्त्री शालिकराम जमरकटेल र गण्डकीका सूरेन्द्रराज पाण्डेलाई विशेष सम्मान गरिनेछ। बागमती प्रदेशमा तामाङ र नेवारी तथा गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई मान्यता दिइएको छ।
सप्ताहव्यापी कार्यक्रमको तालिका
- श्रावण १७ : आदिवासी जनजाति अपांग महासंघको सम्मेलन
- श्रावण २० : महिला महासंघद्वारा बहस कार्यक्रम
- श्रावण २२ : मातृभाषा र खाद्य सुरक्षासम्बन्धी अभिमुखीकरण (एफएओ/युनेस्को), आदिवासी जनजाति आयोगद्वारा एआईसम्बन्धी कार्यशाला
- श्रावण २३ : गुरुङ राष्ट्रिय परिषद्को चियापान
- श्रावण २४ : मूल समारोह तथा र्याली
- श्रावण २५ : मगर संघको अन्तरक्रिया, युवा महासंघको पैदल यात्रा, विद्यार्थी महासंघको एआई विषयक अन्तरक्रिया
- श्रावण २६ : सवलता विषयक संवाद कार्यक्रम
- श्रावण २७ : पत्रकार महासंघ (फोनिज)को २६औं स्थापना दिवस र अवार्ड
- श्रावण २८ : सुनुवार सेवा समाजद्वारा कला/साहित्य पुरस्कार वितरण
यस वर्षको विश्व आदिवासी दिवस नेपालका लागि मात्र होइन, आदिवासी जनजातिहरुको अधिकार, पहिचान र सहभागिता सुनिश्चित गर्न सशक्त सन्देश प्रवाह गर्ने अभियान बन्ने अपेक्षा गरिएको छ।



