सिन्धुली, साउन १६ :सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
आज दिउँसो ३:३० बजे पानी परिरहेको बेला स्थानीय टौवा नजिक ओत लागेर बसेका किशोर–किशोरी तथा बालबालिकामाथि सालको रुख ढल्दा दुर्घटना भएको हो। अविरल वर्षासँगै आएको पहिरोले रुख ढलाउँदा टहरोमाथि खसेको र त्यसले मानवीय क्षति पुर्याएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ९ वर्षीया सार्की थिङ र १६ वर्षीया सन्ता गोलेको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी, १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएका छन्। उनीहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौंडा पठाइएको छ भने सुशील थिङ्गको पाँचपाण्डव पोलिक्लिनिक झुरझुरे म़ा उपचार भई रहेको छ।
घटना भएको स्थान टाढा र विकट भएकाले उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ। सुरक्षाकर्मी, स्थानीयवासी र जनप्रतिनिधिहरूको सहकार्यमा घाइतेहरूको उद्धार गरिएको हो।

स्थानीय प्रशासनले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। अविरल वर्षाका कारण पहिरो र रुख ढल्ने सम्भावना अझै कायमै रहेको हुँदा सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।



