मेरो पत्र Logo

बागमती स्पोर्ट्स अवार्ड सम्पन्न, ८ विधाका १३ जना सम्मानित

Mero Patra
मेरो पत्र
ad
बागमती स्पोर्ट्स अवार्ड सम्पन्न, ८ विधाका १३ जना सम्मानित
adad

हेटौंडा: बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान गरेको छ । आइतबार हेटौंडामा कार्यक्रमको आयोजना गर्दै प्रदेश सरकारले खेलाडी प्रशिक्षक तथा पत्रकारलाई नगद सहित सम्मान गरेको हो ।

बागमती प्रदेशका जिल्लामा जन्मेर खेलकुद क्षेत्रका सक्रिय जिवन बिताएर देशको नाम उच्च बनाएको भन्दै मन्त्रालयले हेटौंडा–४ स्थित हुप्र चौरमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो । खोखो खेलाडी राजन बल उत्कृष्ट वर्ष पुरुष खेलाडी र कराँते खेलाडी एरिका गुरुङ वर्ष उत्कृष्ट महिला खेलाडीबाट सम्मानित भएका छन्। यस्तै तेक्वान्दो खेलाडी संगिना वैद्यले ‘बागमतीको शान अवार्ड’ प्राप्त गर्न सफल भएकी छिन्।

यस्तै एथलेटिक्सका बैकुण्ठ मानन्धर र जित बहादुर केसीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ। अवार्डसँगै ५ जनाले नगद १-१ लाख रुपैयाँ प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ, राष्ट्रिय भलिबल टोलीकी खेलाडी सलिना श्रेष्ठ र राष्ट्रिय फुटबल खेलाडी आयुष घलानले बागमती प्रदेश स्पोर्टस अवार्ड लोकप्रिय विधा प्राप्त गरेका छन् । यस्तै तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले उत्कृष्ट पारा वर्ष खेलाडी अवार्ड, गल्फ खेलाडी सद्भाव आचार्यले युवा वर्ष खेलाडी अवार्ड, ललितपुर खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अवार्ड, श्याम चित्रकारले उत्कृष्ट पत्रकार र पारा तेक्वान्दो प्रशिक्षक कवि राज नेगीले उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका छन् । अवार्डसँगै सबै जनाले ५०-५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले देशको नाम उच्च राख्न खेलकुदका माध्यमबाट खेलाडीहरुले महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् । उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । खेलाडी उत्पादन र संरचना विकासमा गरिएका लगानीलाई व्यवस्थित गर्ने गरी सरकारले नीति कार्यक्रम तयार गरेको उनले बताए ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले प्रशिक्षण केन्द्रका रुपमा खेल पूर्वाधारको विकास गर्ने बताए । खेलको पूर्वाधारलाई नियमित र निरन्तर बनाउन तथा खेलाडी उत्पादनका लागि पूर्वाधारमा लगानी बढाउँदै प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने बताए ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संघीय संरचनालाई बलियो बनाउन खेलकुद क्षेत्रले भुमिका खेलेको बताए । उनले प्रदेशको पहिचानको रुपमा खेलकुद क्षेत्र मार्फत् योगदान पुर्‍याएको बताए । खेलकुद क्षेत्रका विकास र प्रवद्र्धनबाट स्वास्थ्य, संस्कृति, पर्यटनको विकासमा समेत सहयाग पुग्ने उनको भनाई छ ।

खानेपानी उर्जा तथा सिंचाई मन्त्री श्याम खड्का, सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, प्रदेश युवा परिषदका सदस्य सचिव दीपक लामा लगायतले अवार्ड वितरण गरेका थिए ।

सेयर गर्नुहोस्:
adad