मकवानपुर, भदौ ७ :मकवानपुर प्रहरीले लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा सोमबार राति सवारी चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३–०३–००१ ह १०३ नम्बरको अटोमा सवार बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ घर भई हाल हेटौंडा बसपार्क बस्ने २९ वर्षीया सम्झना थिङ र सिन्धुलीको दुधौली नगरपालिका–९ घर भई हाल हेटौंडा बस्ने २३ वर्षीया सोनिका क्षेत्री पक्राउ परेका हुन् ।
चेकजाँचका क्रममा उनीहरूको साथबाट ३ ग्राम १५० मिलिग्राम खैरोहेरोइन जस्तो देखिने पदार्थ र मोबाईल चार्जरभित्र लुकाइराखिएको २२ ग्राम २० मिलिग्राम सेतो पदार्थ (लागुऔषध भएको शंका गरिएको) बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै महिलामाथि लागुऔषधसम्बन्धी कसुर मुद्दा दर्ता गरिएको छ । उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



