बागमती: मकवानपुरको बागमती गाउँपालिकाको सहकार्यमा हेटौडा आँखा अस्पतालद्वारा संचालित सामुदायिक आँखा केन्द्र बागमतीले आफ्नो वार्षिक समीक्षा कार्यक्रम तथा Local Level Project Advisory Committee (LPAC) बैठक आज सम्पन्न गरेको छ।
कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, वडा नं. ३ का अध्यक्ष कमान सिंह पाख्रिन, हेटौडा आँखा अस्पतालका सह-व्यवस्थापक सुधीर श्रेष्ठ, आउटरिच को–अर्डिनेटर सुशील कुमार सिंह, सामुदायिक आँखा केन्द्र बागमतीका इन्चार्ज किशोर चौधरी, गाउँपालिकाका स्वास्थ्य संयोजक दिनेश गुप्ता, वरिष्ठ लेखा अधिकृत झामक नारायण घलान तथा शिक्षा शाखाका प्रतिनिधि प्रमोद कुमार राई लगायतको उपस्थिति रहेको थियो।
बैठकमा विगत वर्षको कार्यक्रम, सेवा प्रभावकारिता, भविष्यमा आवश्यक सुधारका योजना तथा समुदायमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारबारे विस्तृत समीक्षा गरिएको थियो। सहभागी वक्ताहरूले सामुदायिक आँखा केन्द्र बागमतीले स्थानीयस्तरमा प्रभावकारी सेवा पुर्याइरहेको उल्लेख गर्दै यसको निरन्तरतासहित अझै व्यवस्थित रुपमा अघि बढाउनुपर्ने सुझाव दिएका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।




