सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ७ भुताहास्थित वडा कार्यालय र क्वाटरमा आयोजित ‘एकीकृत घुम्ती शिविर’मार्फत यहाँका ४ सयभन्दा बढी स्थानीयबासीलाई विभिन्न सेवा प्रदान गरिएको छ ।
शिविरमा वडा नम्बर ७ का वडा अध्यक्ष बिचबहादुर मोक्तान,प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,इकाई प्रमुख लक्ष्मीश्वरी तुईतुई तथा पञ्जीकरण शाखा प्रमुख मनोराज घिसिङको उपस्थिती रहेको थियो ।
शिविरमा १९१ जनालाई सामाजिक सुरक्षा भत्ता, ८२ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र र ५ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको छ ।
यसैगरी १०३ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै ५८ वटा पशुकोसमेत उपचार गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिकाको ’तेस्रो त्रैमासिक एकीकृत घुम्ती शिविर’ जेठ ५ गतेका दिन वडा नम्बर ८ बाट शुभारम्भ गरिएको थियो । गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले घुम्ती शिविरको उद्घाटन गर्नुभएको थियो ।

भौगोलिक जटिलता, वृद्धवृद्धा तथा अपाङ्गता भएका कारण सेवाबाट वञ्चित भएका जनतालाई घरघरमै सेवा प्रदान गर्ने उद्देश्यले सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम छ । भोलि बुधबार वडा नम्बर ६ को कार्यालय रागेदोभानमा एकीकृत घुम्ती शिविर हुने पञ्जीकरण शाखा प्रमुख मनोराज घिसिङले बताउनुभयो ।



