विमला फाउण्डेशन नेपाल सिन्धुलीले अग्निपीडितको परिवारलाई नगद र अन्न सहयोग गरेको छ । अग्निपीडितको परिवारलाई फाउण्डेशनका संरक्षक वज्रध्वज वाइबाले २२ हजार ३ सय नगद, ३० मुरी धान र मकै सहयोग गर्नुभएको हो ।
हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ गुडखोलाका ३५ वर्षीय डिलबहादुर पुलामीको घर ब्याट्री पड्किएर आगलागी हुँदा जलेर पूर्णरुपमा नष्ट भएको थियो । मंगलबार आगलागी भएकै ठाउँमा पुगेर संरक्षक वाइबाले सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
उहाँले आफ्नी स्वर्गीय बहिनी विमला वाइबाको सम्झनामा स्थापना गर्नुभएको फाउण्डेशनले विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताउनुभयो । विभिन्न विपद्मा परेका पीडितहरुको सहयोग पुर्याउने उदेश्यले फाउण्डेशन स्थापना गरिएको संरक्षक वाइबाको भनाइ छ ।
आगलागीबाट प्रभावित परिवारको आवास पुनर्निर्माण र पुनस्र्थापना कार्यका लागि सहयोग पुग्ने हिसाबले नगद तथा पीडित परिवारलाई वर्षभरिलाई पुग्ने अन्न वितरण गरिएको जानकारी दिनुभयो ।
बिमला वाइबा जनयुद्धको क्रममा वि.सं. २०५४ मा सहिद हुनुभएको थियो । विभिन्न सामाजिक कार्यमा सक्रियताका साथ काम गरिरहेको फाउण्डेशनका सदस्यहरु बेगलाल भोलन, जितमाया घिसिङ, गणेश राई, विष्णु राई, कुमार राई, सञ्जित कार्की, सुवास मैनाली, यमकुमार आछामी, जङ्गे राई, हिम्मत राई र विमल राई हुनुहुन्छ । उहाँहरु अग्निपीडितका लागि अन्न संकलनमा सक्रिय रुपमा लाग्नुभएको थियो ।



