सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ झनझनेमा कफसन नेपालको आयोजना तथा वन डिभिजन कार्यालय मरिणकोको समन्वयमा प्लाष्टिक व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
यस हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यता तथा भूमि समस्या समाधान आयोग सिन्धुलीका अध्यक्ष कौशल कोइरालाज्यू लगायत जिल्ला मालपोत कार्यालय सिन्धुलीका प्रमुख नीर बहादुर दाहाल, डिभिजन वन कार्यालय मरिणका डिएफओ अजयकुमार मानन्धर, नापी कार्यालय सिन्धुलीका प्रमुख आशिष चालिसे, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले प्लास्टिकजन्य फोहोर नियन्त्रणमा सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समिति, बजार व्यवस्थापन समिति, वडा समितिलगायत सबैले यसमा भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।
‘प्लास्टिकले धेरै प्रदूषण बढाउँछ भन्ने कुरामा सचेत गराइराख्नु नपर्ने हो । फोहोर व्यवस्थापनको चेतना सबैमा आउनुपर्छ । खाएपछि कहाँ फ्याँक्नुपर्छ भन्ने कुरा गाउँपालिका अध्यक्षले सिकाइराख्नुपर्छ भन्ने लाग्दैन,’ उहाँले भन्नुभयो, ‘बजार व्यवस्थापन समिति छ, वडा समिति छ, विद्यालय व्यवस्थापन समिति छ । सबैले फोहोर नियन्त्रणमा सचेतना जगाउने काम गर्नुपर्छ ।’
उहाँले प्लास्टिकको प्रयोगबाट हुने असरबारे स्वास्थ्यकर्मीहरुले बुझाउन जरुरी रहेको बताउनुभयो ।
कफसन नेपालका केन्द्रिय अध्यक्ष विना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाभित्रका सामुदायिक वन उपभोक्ता समितिले प्लाष्टिक व्यवस्थापनको लागि प्लेकार्ड,पम्प्लेट सहित र्यालि प्रदर्शन गरेका थिए ।



