हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबा अहिले बागमती प्रदेशबाट प्रस्तावित रासायनिक मल कारखाना स्थापनाको लागि आवश्यक अध्ययन अवलोकनका लागि विदेश भ्रमणमा हुनुहुन्छ ।
गाउँपालिकाको सेवा प्रवाहलाई नियमित राख्न अध्यक्ष वाईबाले स्थानिय सरकार संचालन ऐन बमोजिम उपाध्यक्षको अनुपस्थितीमा गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर ४ का वडाअध्यक्ष कमल कुमार राईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको छ ।
अध्यक्ष वाईबाले उपाध्यक्ष चेख बहादुर थिङलाई समेत सँगै विदेश लैजाने तयारी भए पनि भिसा लगाएतका अन्य कागजपत्रमा समस्या देखिएपछि भ्रमण रद्ध भएको बताउनुभयो ।
“उपाध्यक्ष पनि हामीसँगै विदेशभ्रमणमा जाने तयारी थियो । तर उहाँको कागजपत्र नमिलेपछि रद्ध भयो । साउन १ गते देखि ८ गते सम्म उपाध्यक्ष काठमाडौंमा रहनुभएको छ । उपाध्यक्ष ९ गते मात्रै हरिहरपुरगढी पुग्नु भएको हो”अध्यक्ष वाइबाले भन्नुभयो ।
ऐन, कानुन बमोजिम नै उपाध्यक्षको अनुपस्थितीमा वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिईएको अध्यक्ष वाईबाको दावी छ ।स्थानिय सरकार संचालन ऐन २०७४ मा सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिन मिल्ने व्यवस्था रहेको छ ।कार्यवाहक दिन कुनै आग्रहपुर्वाग्रह नराखीएको अध्यक्ष वाईबाको भनाई रहेको छ ।
उपाध्यक्षको अनुपस्थितीमा वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको अध्यक्ष वाईबाले बताउनु भएको छ।



