Skip to content

कोपिला परियोजनाले हरिहरपुरगढीका विद्यालयमा सिकाइ र उपस्थितिमा उल्लेखनीय सुधार

कोपिला परियोजनाले हरिहरपुरगढीका विद्यालयमा सिकाइ र उपस्थितिमा उल्लेखनीय सुधार
प्रकाशित:
शब्दको आकार

सिन्धुली, साउन २४। चाइल्डएड नेटवर्क फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग, हरिहरपुरगढी गाउँपालिकाको समन्वय तथा सहकार्य र सिड्स नेपाल, सिन्धुलीद्वारा सञ्चालित कोपिला परियोजना ले हरिहरपुरगढी गाउँपालिकाका विद्यालयमा बालबालिकाको सिकाइ उपलब्धि, नियमित उपस्थितिदर तथा बालमैत्री सिकाइ वातावरणमा उल्लेखनीय सकारात्मक परिवर्तन ल्याएको छ।

परियोजना सन् २०२४ देखि पाइलट कार्यक्रमका रूपमा गाउँपालिकाको वडा नं. २ र ४ का १० विद्यालयमा सञ्चालन गरिएको थियो। प्रारम्भिक चरणको सफलतापछि सन् २०२६ देखि परियोजनालाई विस्तार गरी गाउँपालिकाका आठवटै वडाका ५२ विद्यालयमा कार्यान्वयन गरिएको छ।

परियोजनाअन्तर्गत प्रारम्भिक बाल विकास (ECD) तथा कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि बालमैत्री बसाइ व्यवस्थापन, शिक्षक क्षमता विकास, शैक्षिक तथा खेल सामग्री वितरण, बालमैत्री खेलमैदान निर्माण, विद्यालय करेसाबारी स्थापना, अभिभावक शिक्षा तथा ‘गो, बेबी गो’ कक्षा सञ्चालनजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्।

त्यसैगरी, अभिभावकको आर्थिक अवस्था सुदृढ बनाउँदै बालबालिकाको शिक्षामा परिवारको सहभागिता बढाउने उद्देश्यले बाख्रा तथा बंगुर पालन, किराना पसल सञ्चालन, टनेल हाउस निर्माण र सुधारिएको करेसाबारी स्थापना लगायतका आयआर्जनमूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ।

परियोजनाको प्रभावस्वरूप विद्यालयमा विद्यार्थीको नियमित उपस्थितिदर बढेको, सिकाइ उपलब्धिमा सुधार आएको तथा कक्षाकोठामा बालमैत्री, खेलमुखी र सहभागितामूलक सिकाइ वातावरण विकास भएको विद्यालयहरूले बताएका छन्। शिक्षकहरूले बालकेन्द्रित शिक्षण विधि, स्थानीय स्रोतमा आधारित सिकाइ सामग्री र खेलमार्फत शिक्षणलाई प्रभावकारी बनाउँदै बालबालिकाको सक्रिय सहभागिता सुनिश्चित गरेका छन्। यसले बालबालिकामा सिकाइप्रतिको रुचि, आत्मविश्वास र विद्यालयप्रतिको आकर्षणसमेत बढाएको जनाइएको छ।

श्री जनज्योति आधारभूत विद्यालय, हाकपाराकी बाल विकास शिक्षिका शोभा कुमारी पुलामी मगरले कोपिला परियोजना सञ्चालनपछि बालबालिकाको सिकाइमा उल्लेखनीय सुधार आएको, दैनिक उपस्थितिदर बढेको, अभिभावकको सहभागिता सक्रिय बनेको तथा पर्याप्त शैक्षिक र खेल सामग्रीका कारण बालबालिकाले रमाइलो वातावरणमा सिक्ने अवसर पाएको बताउनुभयो।

यस्तै, जनविकास आधारभूत विद्यालय, बन्चरेका प्रधानाध्यापक गंगानारायण श्रेष्ठले परियोजनाले विद्यालयको सिकाइ उपलब्धि सुधार गर्न, शिक्षकको शिक्षण अभ्यासलाई प्रभावकारी बनाउन तथा बालमैत्री वातावरण विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीको कक्षाकोठामा सक्रिय सहभागिता बढ्नुका साथै शिक्षकहरू सिर्जनशील र बालकेन्द्रित शिक्षण विधि अपनाउन थप प्रेरित भएका छन्।

हरिहरपुरगढी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रामेश्वर पुडासैनीले कोपिला परियोजनाले गाउँपालिकामा गुणस्तरीय आधारभूत शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले विद्यालयमा बालमैत्री तथा सहभागितामूलक सिकाइ वातावरण विकास हुनुका साथै शिक्षकको पेशागत क्षमता अभिवृद्धि, विद्यार्थीको नियमित उपस्थितिदर वृद्धि र सिकाइ उपलब्धिमा सकारात्मक सुधार देखिएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार स्थानीय सरकार, विद्यालय, समुदाय र विकास साझेदारबीचको प्रभावकारी सहकार्यका कारण विद्यालयमा सकारात्मक परिवर्तन सम्भव भएको हो। विशेषगरी प्रारम्भिक बाल विकास तथा कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाइमा आएको सुधारले गुणस्तरीय शिक्षाको आधार अझ मजबुत बनाएको उहाँको भनाइ छ।

सिड्स नेपालका अनुसार कोपिला परियोजनाको मुख्य उद्देश्य हरिहरपुरगढी गाउँपालिकाका सबै बालबालिकालाई सुरक्षित, समावेशी र गुणस्तरीय आधारभूत शिक्षा सुनिश्चित गर्नु हो। परियोजनाले विद्यालय, शिक्षक, अभिभावक, समुदाय र स्थानीय सरकारबीचको सहकार्यलाई थप मजबुत बनाउँदै बालबालिकाको सिकाइमा दिगो सुधार ल्याउने विश्वास गरिएको छ।

साझेदारी गर्नुहोस्

विशाल राज राई
Author
विशाल राज राई
लेखक विशाल राज राई विगत १७ वर्ष देखि मिडिया क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

Comments

4 Comments

Andres2017 3 months ago
Nellie994 3 months ago
Julia3520 3 months ago
Holly2121 3 months ago

Related Posts