सिन्धुली, १७ पुस — सिन्धुलीको कमलामाई नगरपालिका–८ माइस्थानस्थित बी.पी. राजमार्गमा आज साँझ हात्तीगाडी दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।आज साँझ करिब ५ बजे माईस्थानबाट जनकपुरतर्फ जाँदै गरेको म.प्र.०४–००१ च ०१५२ नम्बरको हात्तीगाडी आफैँ अनियन्त्रित भई सडक नालीमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनाको सूचना ५ः१० बजे प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षक मोहम्मद कलिम अन्जुमको कमाण्डमा ४ जना तथा इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी नायब निरीक्षक दीपक पोखरेलको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि सिन्धुली अस्पताल पठाएको छ। घाइतेमध्ये चालक मनिराज साहसहित केहीको अवस्था मध्यम रहेको छ भने अधिकांश यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेहरू धनुषा, पर्सा, बारा तथा भारतको बिहार क्षेत्रका रहेका छन्।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र गाडी सडकबाट हटाउने कार्य सम्पन्न भएको प्रहरीले जनाएको छ।




Comments