रौतहट । रौतहट प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट वरिष्ठ पत्रकार गोबिन्दप्रसाद चौलागाईंले आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिन लाग्नुभएको हो। यसअघि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य रहनुभएका चौलागाईं उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता भएपछि हाल रास्वपामा आबद्ध हुनुहुन्छ।
कुलमान घिसिङको विशेष अनुरोध तथा रौतहट क्षेत्र नम्बर ४ का नागरिकहरूको व्यापक जोडबलका कारण आफू उम्मेदवार बन्न लागेको चौलागाईंले बताउनुभएको छ। लामो समयदेखि पत्रकारिता, सामाजिक सेवा र सुशासनको क्षेत्रमा सक्रिय उहाँलाई नागरिक अगुवाका रूपमा पनि चिनिन्छ।
चौलागाईं २०५२ सालदेखि पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहुन्छ। उहाँले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सचिव पद सफलतापूर्वक पूरा गरिसक्नुभएको छ। देशभरका धेरै पत्रकार आबद्ध रहेको नेपाल पत्रकार महासंघ काठमाडौं जिल्लामा उहाँ दुई–दुई पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो। पत्रकार महासंघका विभिन्न तहका निर्वाचनमा छ पटक उम्मेदवार बनेका उहाँ कहिल्यै पराजित हुनुभएको छैन।
नाकाबन्दी जस्तो कठिन समयमा उपत्यकाका सञ्चारगृहहरूलाई इन्धन सहजीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेका कारण उहाँ सञ्चारकर्मीहरूबीच लोकप्रिय बन्नुभएको थियो। २०५५ सालदेखि रौतहट जिल्लाकै नामबाट ‘रौतहट टाइम्स’ साप्ताहिक पत्रिका सुरु गरी जिल्लाभर हुने विकृति र विसंगतिविरुद्ध खरो पत्रकारिता गर्दै आउनुभएको छ।
सामाजिक सेवामा पनि उहाँको योगदान उल्लेखनीय रहेको छ। उहाँकै संयोजनमा रौतहटका विभिन्न स्थान—जुडिबेला, डुमरिया, जिङ्गडिया, समनपुर लगायतका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी करिब ४० हजार नागरिकलाई काठमाडौं वीर अस्पताल, पाटन अस्पताल, प्रसूति गृह तथा शिक्षण अस्पतालका चिकित्सकमार्फत उपचार गराइएको छ। बाढी, आगलागी लगायतका दैवी प्रकोपमा पीडितलाई पटक–पटक राहत सामग्री वितरण गर्दै उहाँ काठमाडौंमा रहे पनि सधैं जिल्लासँग जोडिएर काम गर्दै आउनुभएको छ।
शिक्षा क्षेत्रमा पनि उहाँ सक्रिय रहँदै आउनुभएको छ। क्षेत्र नम्बर ४ का चेतनगर, वृन्दावन र सिन्दुरेघारीका विद्यालयहरूमा पुस्तकालयका लागि पुस्तक तथा खेलकुद सामग्री उपलब्ध गराउनुभएको छ। कोरोनाकालमा मुसहर बस्तीमा हावाहुरीले क्षतिग्रस्त भएका छ वटा घर निर्माणमा सहयोग पुर्याउनुभएको थियो।
चौलागाईंले प्रशासनसम्बन्धी झण्डै १३ वटा पुस्तक सम्पादन तथा प्रकाशन गर्नुभएको छ। ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ अभियानअन्तर्गत वृक्षरोपण अभियान सञ्चालन गरी नेपालको पहिलो जन्मोत्सव पार्क निर्माणको अवधारणा अघि बढाउनुभएको छ। हाल काभ्रे र सिन्धुपाल्चोकसहित तीन जिल्लामा नागरिकको सहयोगमा जन्मोत्सव पार्क निर्माणाधीन अवस्थामा पुगेका छन् भने यो अवधारणा देशका २२ जिल्लामा फैलिँदै गएको छ।

किसानले मल नपाएको बेला सरोकारवाला सबै निकायलाई एकै ठाउँमा भेला गराई सहज आपूर्तिका लागि पहल गर्नु, स्थानीय तहको सेवा प्रवाह र सुशासनका विषयमा जिल्लाभर प्रभावकारी छलफल सञ्चालन गर्नु लगायतका काममा उहाँ अग्रसर रहँदै आउनुभएको छ। विभिन्न तहबाट राज्यका पुरस्कार र सम्मानबाट सम्मानित चौलागाईं शीतलहर पीडितलाई बस्ती–बस्ती पुगेर ब्ल्याङ्केट वितरण गर्ने सामाजिक अभियन्ताका रूपमा पनि परिचित हुनुहुन्छ।
उहाँले निर्वाचनमा विजय हासिल गरेमा क्षेत्र नम्बर ४ मा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकासका पूर्वाधारमा ठोस योजना ल्याउने र यस क्षेत्रलाई देशकै विकसित क्षेत्र बनाउने पहल गर्ने बताउनुभएको छ। साथै संसदमा देशलाई आवश्यक कानुन र नीति निर्माणमा सक्रिय भूमिका खेल्दै विकास, सुशासन र न्यायप्रति जनताको चाहना पूरा गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ।




Comments