मकवानपुरको बागमती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ देखि तीन लाख रुपैयाँसम्मका साना योजना सिधै वडा कार्यालयमार्फत कार्यान्वयन गर्ने नीति लागू गरेको छ। गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार पहिलो पटक यस्तो अभ्यास थालनीसँगै योजनाको सम्झौता, भुक्तानी र कार्यान्वयनका सम्पूर्ण प्रक्रिया अब सम्बन्धित वडा कार्यालयमै सम्पन्न हुने भएका छन्।
गाउँपालिका अध्यक्ष सर्केश घलानले वडा कार्यालयमार्फत योजना कार्यान्वयन गर्ने अभ्यास गाउँपालिकाको ऐतिहासिक कदम भएको बताउँदै यसबाट स्थानीय तहमा उत्तरदायित्व, पारदर्शिता र जनसहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो।
“जनताको नजिकबाट योजना सञ्चालन हुँदा विकासका कामहरू छिटो, गुणस्तरीय र प्रभावकारी हुनेछन्,” अध्यक्ष घलानले भन्नुभयो। साथै उहाँले कर्मचारीहरूलाई नियमित रूपमा जनताको सेवामा उपस्थित रहन र फुर्सदको समयमा श्रम गर्न पनि सुझाउनुभयो।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिनाले नयाँ अभ्यासले वडास्तरको क्षमता अभिवृद्धि गर्दै स्थानीय सरकारको सशक्तिकरणमा टेवा पुर्याउने बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत दर्जीले वडा कार्यालयहरूलाई योजना छनोट, कार्यान्वयन, अनुगमन र प्रतिवेदन व्यवस्थापनका सबै पक्षमा आवश्यक प्राविधिक सहयोग प्रदान गरिने जानकारी दिनुभयो। उनका अनुसार, साना पूर्वाधार, सामाजिक विकास तथा सामुदायिक सेवा सम्बन्धी योजना यसै माध्यमबाट कार्यान्वयन गरिनेछ।
सहभागीहरूले गाउँपालिकाको यो नयाँ अभ्यासले वडा तहमा स्वामित्व भावना र प्रशासनिक दक्षता बढाउने अपेक्षा व्यक्त गरेका छन्। यसलाई व्यवस्थित र प्रभावकारी बनाउन शुक्रबार गाउँपालिका कार्यालयको सभा हलमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो।
उक्त कार्यक्रममा गाउँपालिकाअन्तर्गतका सबै वडा अध्यक्ष, वडा सचिव, वडामा खटिएका प्राविधिकहरू, गाउँपालिकाका विषयगत शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम गाउँपालिका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिनाको विशेष उपस्थितिमा अभिमुखीकरण तथा सहजीकरण सत्र प्रशासन प्रमुख सार्थक घिमिरेले सञ्चालन गर्नुभएको थियो।




