मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, फुटसल चोकस्थित भित्री सडकखण्डमा भएको मोटरसाइकल ठक्कर दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ।
हिजो बुधवार मक्राञ्चुलीबाट हेटौडा तर्फ आउँदै गरेको ना ४३ प २०४० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी सोही स्थानकी ९२ वर्षीया नन्दकुमारी न्यौपानेलाई बिहान ९ बजेतिर ठक्कर दिएको थियो। दुर्घटनामा न्यौपाने विभिन्न भागमा गम्भीर घाइते भएकी थिइन्।
घाइतेलाई मोटरसाइकल चालक २४ वर्षीय सन्तोष थापा मगर र स्थानीय कृष्णप्रसाद दाहालले उपचारका लागि बिहान ११:२० बजे हेटौडा अस्पताल पुर्याएका थिए। प्रारम्भिक उपचारपछि थप उपचारका लागि दिउँसो ३ बजे चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको भए पनि उनको अवस्था गम्भीर भएकाले पुनः हेटौडाकै मकवानपुर सहकारी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
हिजो साँझ ७:५० बजे उपचारकै क्रममा चिकित्सकले न्यौपानेलाई मृत घोषणा गरेका थिए। मृतकको शव सोही अस्पतालमै राखिएको छ।
यसैबीच, मकवानपुर प्रहरीले चालक सन्तोष थापा मगरसहित मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएको जनाएको छ।



