सिन्धुलीमा भालुको आक्रमण: ८३ वर्षीय वृद्ध गम्भीर घाइते, काठमाडौं रिफर





सिन्धुली, साउन ९:सिन्धुलीको दुधौली नगरपालिका–३ कालापानीमा आज दिउँसो बाख्रा चराउँदै गरेका एक वृद्ध व्यक्तिमाथि भालुले आक्रमण गर्दा गम्भीर घाइते भएका छन्।
दिउँसो करिब २:३० बजे स्थानीय ८३ वर्षका चन्द्रबहादुर बस्नेत आफ्नै घरबाट झण्डै ४ किलोमिटर दक्षिणमा पर्ने चुरे क्षेत्रको जङ्गलमा बाख्रा चराइरहेका बेला अचानक वनभालुले आक्रमण गरेको थियो।
घटनामा बस्नेतको दायाँ हात र दायाँ खुट्टामा गम्भीर चोट लागेको छ। घटनापछि उनी बोल्न नसक्ने अवस्थामा पुगेका छन्।
उनीसङ्गै बाख्रा चराउन गएका छिमेकी वीरबहादुर श्रेष्ठले घाइते अवस्थाको जानकारी पाएपछि तत्काल उद्धार गरी साँझ करिब ६:१५ बजे दुधौली नगर अस्पताल, सिर्थौल पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको दुधौली अस्पताल स्रोतले जनाएको छ।
स्थानीयवासीका अनुसार यस क्षेत्रमा पछिल्लो समय वन्यजन्तु आक्रमणको जोखिम बढ्दै गएको छ। भालुको आक्रमणपछि स्थानीयबासीमा त्रास फैलिएको छ भने सम्बन्धित निकायको ध्यानाकर्षण समेत भएको छ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतका निकायले घटनाको अध्ययन गरी सुरक्षा र वन्यजन्तु नियन्त्रणका उपायहरू अवलम्बन गर्नुपर्ने स्थानीयको माग रहेको छ।