मकवानपुर: बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेसभित्रैको असन्तुष्टि चुलिँदै जाँदा अन्ततः आफ्नै पार्टीका सांसदहरूले उनको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार दर्ता गरिएको सो प्रस्तावमा हालै राजीनामा दिएका चार पूर्वमन्त्रीसहित २१ जना सांसदहरूको हस्ताक्षर रहेको बताइएको छ। लामो समयदेखि असन्तुष्ट समूहका रूपमा परिचित यी सांसदहरूले पार्टीभित्रको नेतृत्व परिवर्तनको माग गर्दै यस्तो कदम चालेका हुन्।
कांग्रेस संसदीय दलको विधानअनुसार दलको नेता नै प्रदेशको मुख्यमन्त्री बन्ने प्रावधान भएकाले लामाविरुद्ध दर्ता भएको यो प्रस्तावले सिधै उनको मुख्यमन्त्री पद नै धरापमा पर्ने देखिन्छ।
आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको चरणमा मन्त्रिपरिषद् र कांग्रेस सांसदहरूबीच देखिएको मतभेदले पार्टीभित्रको आन्तरिक कलह झनै गहिरिएको थियो। बजेटको प्राथमिकता, विनियोजन र स्रोतको बाँडफाँडमा देखिएको विवादपछि यो राजनीतिक संकट उत्कर्षमा पुगेको हो।
अब बागमती प्रदेशको राजनीतिक दिशा कुन मोडमा जानेछ भन्नेमा चासो बढेको छ। नेतृत्व फेरिने कि सरकारमै नयाँ गठबन्धन बन्ने भन्ने विषयमा गहिरो रस्साकस्सी सुरु भएको छ।
यस घटनाले न केवल कांग्रेसभित्रको आन्तरिक राजनीति तातिएको छ, प्रदेश सरकारको स्थायित्वमाथि पनि गम्भीर प्रश्न उठाएको छ।



