सिन्धुली, साउन ९ :सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीस्थित बीपी राजमार्ग सडकखण्डमा शुक्रबार बिहान करिब १२ बजेर ५० मिनेट जाँदा पिकअप गाडी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।
काठमाण्डौबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०१–०२४ च ९९१३ नम्बरको योद्दा पिकअप अनियन्त्रित भई करिब ५०० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा परि मकवानपुरको मनहरी गाउँपालिका–४ का धर्मराज रेग्मी गम्भीर घाइते अवस्थामा उद्धार गरिए पनि उपचारका क्रममा सुनकोशी सामुदायिक अस्पताल, खुर्कोटमा बिहान करिब ३ बजेर ४५ मिनेट जाँदा मृत घोषित गरिएको प्रहरीले जनाएको छ।
त्यसै क्रममा सोही गाडीका चालक निरज रेग्मी घाइते भई थप उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ।
मृतकको शव पोष्टमार्टमका लागि सिन्धुलीतर्फ पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



