मेरो पत्र Logo

हरिहरपुरगढी धनमना खोलाको नवनिर्मित बिद्यालय उद्घाटन

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढी धनमना खोलाको नवनिर्मित बिद्यालय उद्घाटन
adad

संघिय सरकार बिशेष अनुदान अन्तर्गत सिन्धुली हरिहरपुरगढी गाउँपालिका द्बारा वडा नं. ५ स्थित बालकल्याण प्राथमिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको निर्माण सम्पन्न पछि आज उद्घाटन गरिएको छ । सिन्धुली  क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल “राजन” तथा पालिका प्रमुख बज्रध्वज वाईबा समुपस्थतिमा बिद्यालय भवन उद्घाटन भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा सांसद दाहालले प्राथमिक शिक्षा बालबालिकाको भविष्य राम्रो बनाउने जग भएकोले उक्त तहका विद्यार्थीलाई राम्रो शिक्षा र संस्कार दिनुपर्नेमा जोड दिनुभयो । ‘विद्यार्थीलाई भविष्यमा कस्तो बनाउने भन्ने जग बसाउने प्राथमिक विद्यालयबाटै हो । जग बलियो भएन भने घर बलियो हुँदैन । त्यसैले यस विद्यालयका विद्यार्थीहरुलाई जति राम्रोसँग पढाउनुहुन्छ, जति राम्रो संस्कार र अनुशासन सिकाउनुहन्छ, जति मिहेनत गरेर विद्यार्थीको दिमाग विकास गर्न सहयोग गर्नुहुन्छ, त्यहीँबाट उनीहरुको प्रगति सुरु हुन्छ,’ शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई लक्षित गर्दै उहाँले भन्नुभयो ।

सांसद दाहालले हरिहरपुरगढीमा प्राथमिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार निर्माण र दरबन्दी सिर्जना गर्ने काममा लागिपरेको बताउनुभयो । शिक्षा क्षेत्रमा बढी लगानी गरिएको र त्यसको नतिजास्वरुप सहरमा भन्दा गाउँमा शिक्षा राम्रो हुँदै गएको उहाँको भनाइ थियो । गाउँका विद्यालयलाई सूचना र सञ्चारको पहुँचले सहज बनाएको र सूचना प्रविधिले संसारको ज्ञानसँग जोडिएको हुँदा शिक्षक तथा विद्यार्थीहरुले लाभ लिनसक्ने अवस्था बनेको धारणासमेत राख्नुभयो ।

सांसद दाहालले जनकल्याण प्राविको स्तरोन्नतिको आवश्यकतासमेत औंल्याउनुभयो । कक्षा २ सम्म मात्र पढाइ हुने यस विद्यालयका विद्यार्थीलाई त्यसपछि अर्को विद्यालय जान समस्या रहेको उल्लेख गर्नुहुँदै उहाँले कक्षा ५ सम्म स्तरोन्नति गर्नुपर्ने बताउनुभएको हो ।

‘यहाँ उत्पीडित जाति, जनजातिहरुको बस्ती छ । बस्तीको बीचमा रहेको प्राथमिक विद्यालयमा कक्षा २ सम्म मात्र पढाइ हुन्छ । अरु विद्यालयमा भन्दा विद्यार्थी संख्या राम्रो छ,’ सांसद दाहालले भन्नुभयो, ‘५९ जना विद्यार्थी अध्ययन गर्ने यो विद्यालयलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता बोध गरेका छौं । अर्को विल्द्यालयमा जान दूरी टाढा छ । त्यसकारण न्यूनतम पाँच कक्षासम्म पु¥याउनुपर्छ भन्ने आवश्यकता बोध गरेका छौं ।’
उहाँले विद्यालयको स्तरोन्नतिका लागि आवश्यक दरबन्दी सिर्जना गर्नका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । यसका लागि आवश्यक कागजातलगायत तयारी गर्न उहाँले विद्यालय व्यवस्थापन समितिसँग आग्रह गर्नुभयो ।

विद्यालय भवन उद्घाटन समारोहमा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले आफूहरु निर्वाचित भएर आएपछि शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय काम भएको सुनाउनुभयो । ‘हाम्रो सरकार निर्वाचित भएपछि पालिकाभित्रका विद्यालयहरुमा कोटा ल्याउन धेरै संघर्ष गरियो । जसअनुसार अहिले सफल पनि भएका छौं,’ अध्यक्ष वाइबाले भन्नुभयो, ‘प्राविमा ४२ वटा कोटा ल्याउन सफल भएको छ । यसैगरी निमाविमा ४ वटा र माविमा ७ वटा कोटा ल्याएका छौं ।’

उहाँले कोटा ल्याउन गरेको दुःख नदेख्ने गुनासोसमेत गर्नुभयो । ‘अहिलेसम्म ५३ वटा कोटा आइसक्यो, यसलाई उपलब्धि देख्दैन । मास्टर (शिक्षक) आयो कि आएन भन्नेमात्रै कुरा हुन्छ । कोटा ल्याउन गरेको दुःख देख्दैन,’ अध्यक्ष वाइबाको भनाइ थियो ।
उहाँले चालु आर्थिक वर्षमा संघीय ससर्त अनुदानमार्फत विद्यालय भवनका लागि ३ करोड ८० लाख आएकोमा ६ वटा विद्यालय भवनको टेण्डर भइसकेको जानकारी दिनुभयो । अध्यक्ष वाइबाका अनुसार जीवनज्योति प्रावि जितपुरडाँडाको सूचना प्रकाशित भइ टेण्डर स्वीकृत हुने क्रममा रहेको र कालिका प्रावि कोक्टी, जनज्योति प्रावि चिसापानी यस्तै जनप्रगति प्रावि बसेरी, जनकल्याण प्रावि सानोधुम्बे, सरस्वती शिशु बाल प्रावि जमुने, कुशेश्वर प्रावि टेण्डर स्वीकृत भई सम्झौता समेत भइसकेको जानकारी दिनुभयो ।

वाईबाले नम्बरलाई पर्यटकीय क्षेत्र बनाउने कार्यको थालनी भइसकेको बताउनुभयो । दुईतिरबाट चक्रपथ बनाउन बजेट पारित भइसकेको र टावर निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो ।

‘भिमकोटको टावर संरक्षण गर्न सकिएन, पटक–पटक सोलार राखियो , त्यहाँ संरक्षण गर्न सक्दैनौं । त्यसलाई रद्द गरेर १ नम्बरमा ल्याएर टावर बनाउँदैछौं । जितपुरडाँडामा रेडियोको पनि टावर बन्छ । त्यसपछि पर्यटकहरुको अकर्षण बन्ने छ,’ उहाँले भन्नुभयो । जितपुरडाँडामै २७ लाख ५० हजार रुपैयाँको खानेपानी योजनाको पनि शिलान्यास गर्ने तयारी भइरहेको बताउनुभयो ।

पक्की भवन बनेपछि विद्यार्थी उत्साहित
हरिहरपुगढी–५ धनमनाखोलास्थित बालकल्याण प्राविमा अध्ययनरत विद्यार्थीहरु उत्साहित हुनुभएको छ । थाकलको छाप्रोमा बसेर अध्ययन गर्दै आउनुभएका उहाँहरु नवनिर्मित पक्की भवनमा पढ्न पाउने भएपछि उत्सहित बन्नुभएको हो । यहाँका अभिभावकमासमेत खुसी छाएको देखिन्थ्यो । विद्यालयको पक्की भवन उद्घाटन हुँदा उहाँहरुले खुसी व्यक्त गर्नुभयो ।

भवन अभावमा यसअघि थाकलको छाप्रोबाट पठनपाठन सञ्चालन गर्दै आएको थियो । नयाँ भवन बनेसँगै अन्य विद्यार्थीलाई समेत आकर्षित गर्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।
उद्घाटन समारोहमा दिइएको जानकारीअनुसार विद्यालय भवन ३५ लाख १५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको हो ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,वडा नं ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता कमल कुमार राई, वडा नं ५ का वडा अध्यक्ष साईला लामा, निवर्तमान उपाध्यक्ष अनिता कुमारी राई लगायत कार्यपालिका सदस्यहरु,बिद्यालयका शिक्षक शिक्षिकाहरु,शाखागत कर्मचारी, पार्टी प्रतिनिधि ,पत्रकार,स्थानिय बुद्दिजिविहरुको उपस्थित रहेको थियो।

सेयर गर्नुहोस्:
adad