हेटौडा,असार ७:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशले शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा मकवानपुरमा चियापान कार्यक्रम आयोजना गरेको छ। बागमती प्रदेशका सभापति अच्युतम लामिछानेले रास्वपाले वर्तमान व्यवस्थालाई मानेर जनताको अवस्था बदल्न लागिरहेको संघीयताबारे पुर्नविचार गर्नुपर्ने आवश्यकता रहेको सांसदहरुको संख्या घटाउनुपर्ने बताउनुभयो । आर्थिक अवस्था कमजोर देशमा अहिलेको संख्याको सांसद आवश्यक नपर्ने उहाँको भनाई छ । उहाँले अरबौं जनसंख्या रहेको छिमेकी मुलुक भारतमा ५ सयको संख्यामा लोक सभा सदस्य हुुने तर तीन करोड जनता रहेको नेपालमा अहिलेको संख्याको सांसद आवश्यक नपर्ने उहाँको भनाई छ । उहाँले कार्यकर्ताहरुलाई जनताकोे विश्वास जित्ने काम गर्न पनि आग्रह गर्नुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य प्रल्हाद लामिछानेले नेपाली राजनीतिमा रास्वपाले चाँडै जनताको विश्वास जित्न सकेको बताउनुभयो । जनताले अहिले रास्वपालाई पुराना पार्टीहरुको विकल्पको रुपमा हेरिएको भन्दै उहाँले यो विश्वासलाई जोगाइराख्न आग्रह गर्नुभयो ।
पार्टी मकवानपुरका सभापति भरत पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, पार्टीका प्रदेश उपसभापति दिनेश हुमागाई, नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीधर पोखरेल, एकिकृत समाजवादीका अध्यक्ष विष्णु दाहाल, नेपाली काँग्रेसका जिल्ला सचिव भीमसेन महत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपाका उपाध्यक्ष अर्जुन प्रसाद गौतम, नेकपा मालेका उपाध्यक्ष हरीकृष्ण अधिकारी र नेकपाका जिल्ला इन्चार्ज क्वाटर लगायतको उपस्थिति रहेको थियो ।