सिन्धुली —सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदन भण्डारी राजमार्गमा दिउँसो १२:२५ बजे ट्रक र दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्र.१–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेका प्र.२–०१–००१ प २१४२ र म.प्र.०२–००६ प ५८४१ नम्बरका मोटरसाइकलहरू ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा दुधौली–११ टाडीका ३४ वर्षीय रामकुमार कुमर र ऐ.ऐ–३ बस्ने २५ वर्षीय फुलबाबु धामीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेहरूमा विप्लभ धामी, बुद्धी थारु, सुनिल माझी र कुशे धामी रहेका छन्।
मोटरसाइकलमध्ये एकमा आगलागी भई पूर्णरूपमा क्षति पुगेको र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय डकाहाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।




Comments