सिन्धुली। हरिहरपुरगढी गाउँपालिका–३ तिनकुनास्थित भानुभक्त माध्यमिक विद्यालयमा पूर्वशिक्षक तथा विद्यार्थी मिलन कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवन दर्लामी मगरले गर्नुभएको थियो भने हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्य प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत आचार्यले विद्यालयभित्र राजनीति नगरी स्वच्छ भावनाका साथ शैक्षिक वातावरणमा योगदान गर्न शिक्षकहरूलाई निर्देशन दिनुभयो। उहाँले नेपाल सरकारले ल्याएको दिवा खाजाको कार्यक्रमबारे शिक्षकहरूले राम्ररी बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

आचार्यका अनुसार, दिवा खाजाको उद्देश्य बालबालिकाको भोक मेटाउने मात्र नभई घरमा पोषणयुक्त खानाको अभावलाई विद्यालयबाट पूर्ति गर्ने हो। उहाँले केही विद्यालयहरूले दिवा खाजाको नाममा गुणस्तरहीन खाजा खुवाउने गरेको पाइएको भन्दै, आगामी दिनमा छड्के अनुगमनमार्फत यस्तो कार्य फेला परे कारबाही गरिने चेतावनी दिनुभयो।
कार्यक्रममा विद्यालयका पूर्वशिक्षक, पूर्वविद्यार्थी, शिक्षक, विद्यार्थी अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।




