सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४, हाकपारामा तामाङ समुदायलाई लक्षित गरी डम्फु बनाउने सीपमूलक तालिम सुरु भएको छ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुवप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले तालिमको शुभारम्भ गर्नुभयो।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष कमलकुमार राई, वडा नम्बर ५ का अध्यक्ष साईला लामा लगायतको उपस्थिती थियो।
अध्यक्ष वाइबाले डम्फु जस्ता परम्परागत बाजा संरक्षणसँगै सीप विकासमार्फत उद्यमशीलताको अवसर बढ्ने अपेक्षा व्यक्त गर्नुभयो। कार्यालय प्रमुख ढकालले भने जिल्लाभर विभिन्न सीपमूलक तालिम सञ्चालन भईरहेको र यसले युवालाई स्वरोजगारतर्फ अग्रसर गरिरहेको जानकारी दिनुभयो।उहाँले आगामी दिनमा कला घर सिन्धुलीकै प्राङ्गणमा स्वर्गीय सेलो गायिका इन्दिरा गोले गुरुङको समेत प्रतिमा निर्माण गरिने जानकारी दिनुभयो । साथै उहाँहरूको योगदानको सम्मान स्वरूप हरिहरपुरगढी गाउँपालिकाको परिसरमा पनि कलाकार जयनन्द लामा र गायिका इन्दिरा गोले गुरुङ दुवैको प्रतिमा निर्माण गरिने उद्घोष गर्नुभयो ।
तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा संस्कृति जगेर्ना र आत्मनिर्भरता दुवैलाई ध्यानमा राखी तालिम सञ्चालन गरिएको हो। तालिममा २० जना स्थानीय सहभागी छन् भने प्रशिक्षण लिलाबहादुर स्याङ्तानले दिनुहुनेछ।तालिम अशोज ७ गते सम्म चल्नेछ ।



