मेरो पत्र Logo

दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डार

Mero Patra
मेरो पत्र
ad
दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डार
adad

दैलेख — नेपालको पश्चिमी पहाडी भूभागमा रहेको दैलेख जिल्लाको जलजले क्षेत्रमा मिथेन ग्यासको ठूलो भण्डारण फेला परेको छ। चीनको जियोलोजिकल सर्भे कम्पनीले प्रारम्भिक अन्वेषण प्रतिवेदन नेपाल सरकारलाई बुझाउँदै जलजले क्षेत्रलाई ऊर्जा स्रोतको एक महत्वपूर्ण केन्द्रको रूपमा औँल्याएको छ।

विसं २०७८ वैशाखमा सुरु गरिएको अन्वेषणको पहिलो चरण अन्तर्गत गरिएको ड्रिलिङ कार्य ४,०१३ मिटर गहिराइसम्म पुर्‍याइएको थियो। त्यस क्रममा संकलन गरिएका नमुनाको परीक्षणबाट करिब १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको छ। यो परिणाम केवल पहिलो कुइँकानको प्रारम्भिक नतिजा मात्र हो। बाँकी तीन स्थानमा अझ ठूलो परिमाणमा ग्यास हुने अनुमान गरिएको छ। प्राविधिकहरूले जलजले क्षेत्रमा झण्डै ४ सय ३० अर्ब घनमिटर मिथेन ग्यास हुन सक्ने प्रक्षेपण गरेका छन् – जुन मात्रा नेपालका लागि आगामी ५० वर्षसम्मको आवश्यकता पूरा गर्न पर्याप्त हुन सक्छ।

नेपाल–चीनबीच सन् २०१९ मा भएको सरकारी स्तरको सम्झौता (जीटुजी) पश्चात् सुरु गरिएको यो परियोजना हालसम्मकै सबैभन्दा वैज्ञानिक र गहिरो अन्वेषण भएको खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक दिनेशकुमार नापितले बताएका छन्। सरकारले अन्वेषणका लागि ४५ रोपनी सरकारी जग्गा छुट्याएर पूर्वाधार निर्माण तथा प्राविधिक सहयोग सहज बनाएको थियो।

चीन सरकारको अनुदान सहयोगमा सञ्चालित यो परियोजनाको प्रारम्भिक लागत २ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ। कोभिड–१९ लगायतका चुनौतीले कार्यान्वयनमा ढिलाइ भए पनि परियोजना अब महत्वपूर्ण मोडमा आइपुगेको छ। सन् २०२५ डिसेम्बरसम्म चिनियाँ कम्पनीले अन्तिम प्रतिवेदन दिने र त्यसपछि व्यावसायिक उत्पादन परीक्षण सुरु गर्ने योजना सरकारको रहेको छ।

दैलेखमा ग्यास बल्ने, तेलजस्तो पदार्थ चुहिने दृश्य दशकौंदेखि देखिँदै आए पनि वैज्ञानिक प्रमाणित प्रयास २०३६ सालदेखि सुरु भएको हो। तर २०७२ सालको भारत–नेपाल सीमाबन्दीपछि इन्धन संकट चुलिएपछि सरकार स्वदेशी ऊर्जा स्रोतप्रति गम्भीर बन्न पुगेको हो।

नेपाल र चीनबीच २०७५ मा भएको पेट्रोलियम अन्वेषण सम्झौताले रणनीतिक सन्देश दिएको छ। प्रारम्भिक परीक्षणबाट शिरस्थान, नाभिस्थान लगायतका क्षेत्रमा समेत ऊर्जा स्रोतको सम्भावना देखिएको छ।

उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र थापाका अनुसार, अन्वेषण परियोजना सफल भएमा दैलेखमा रोजगारीका नयाँ अवसर सिर्जना हुने, उद्योगमैत्री वातावरण बन्ने र समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

दैलेखको माटोले लुकाएको यो ऊर्जा सम्भावनाले अब मुलुककै ऊर्जा भविष्यलाई नयाँ दिशा दिने आशा जगाएको छ।

सेयर गर्नुहोस्: