बकैयाको नीति तथा कार्यक्रम सार्वजनिक ,बजेट असार १६ गते ल्याउने





बकैया: मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार भएको ११ औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
गाउँसभामा `समृद्ध बकैया निर्माणको मुल आधार: स्वास्थ्य, शिक्षा, कृषी, पर्यटन र वातावरणमैत्री पुर्वधार´ भन्ने नाराका साथ उपाध्यक्ष खत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । गाउँपालिकामा ऐलानी जग्गामा बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी, भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीहरुलाई जग्गा धनि प्रमाण पत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत लगत संकलन भई नापीनक्साको कार्य भईरहेकोमा उक्त कार्य आर्थिक वर्ष २०८२/८३ सम्पन्न गर्ने भएको छ । कम्तिमा आफ्नो तथा परिवारको नाममा समेत कुनै जग्गा नरहेका भूमिहिन दलित तथा भूमिहीन सुकुम्वासीहरुलाई भूमी समस्या समाधान आयोगसँग समन्वय गरी जग्गा दर्ता प्रमाणपुर्जा वितरण गर्ने कार्यक्रमलाई पूर्णता दिइने भएको छ । साथै २०३२ साल भन्दा अगाडि नाप नक्सा भई हालसम्म जग्गा दर्ता प्रमाणपुर्जा प्राप्त नभएको जग्गाहरुको जग्गा दर्ता प्रमाणपुर्जा प्रदान गर्न सम्बन्धित निकायमा आवश्यक थप पहल गरिने भएको ।
यस्तै राजश्व संकलनलाई व्यवस्थित बनाउने, संघीय सरकार र प्रदेश सरकारबाट सञ्चालन हुने योजनाहरुमा प्राकृति स्रोत साधन (दहत्तर बहत्तर) प्रयोग बापतको राजस्व प्रचलित कानुन बमोजिम अनिवार्य गरिने भएको छ ।
यस्तै बागमति नदीबाट बकैया गाउँपालिका अन्तर्गत रहेको वडा नं ८, ९ र १० का विभिन्न भूभागहरुमा सिंचाईको लागि बागमति-अम्बास-बस्तिपुर-शिखरपुर बृहत सिंचाई आयोजना संचालनको लागि सम्भाव्यता अध्ययन सम्बन्धित निकायको सहकार्यमा विस्तृत परियोजना प्रतिवेदनको लागि पहल गरिने भएको छ ।
यस्तै बकैया कृषि औद्योगिक ग्राम क्षेत्रमा स्थापना भएको बकैया कृषि उपज खरीद बिक्री तथा संकलन केन्द्रलाई व्यवस्थित बनाउदै कार्य क्षेत्र थप विस्तार गरिने, बकैया कृषि उपज खरीद बिक्री तथा संकलन केन्द्र मार्फत दुग्ध सहकारी संस्थाबाट दुध खरिद गरी शिवपुरी फ्रेस डे डेरीलाई बिक्री वितरण गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । गाउँपालिकाभित्र उत्पादित दूधको लागि भण्डारण सहितको चिस्यान केन्द्र बकैया कृषि औधोगिक ग्राममा निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ।
यस्तै तिनथुम्के, टोङटोङ, वडा कार्यालय हुँदै हाँत्तिसुडे जोड्ने सडकलाई बाह्रै महिना संचालमा ल्याउन पहल गरिने भएको छ । यस्तै नियमित रुपमा समीक्षा, सार्वजानिक सुनुवाई, सामाजिक परिक्षण जस्ता सुशासनलाई प्रवर्द्धन हुने कार्यक्रमहरु सञ्चालन गरिनेछ । मंगलबार भएको गाउँसभा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सञ्चालन गर्नुभएको थियो । गाउँसभामा वडा सदस्य, कार्यपालिका सदस्य र वडाध्यक्षहरुले मन्तव्य राखेका थिए । गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ लगायत शाखागत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बजेट भने आगामी १६ गते मात्र ल्याउने भएको छ।