हरिहरपुरगढीमा ३ दिने निःशुल्क आँखा र दन्त शिविर सुरु





सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ४ स्थित महेन्द्र झ्याडी स्वास्थ्य चौकीमा आजबाट ३ दिने निःशुल्क आँखा र दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले निःशुल्क आँखा र दाँत सम्बन्धी बृहत् शिविरको समुद्घाटन गर्नुभएको हो ।

हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा काठमान्डौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा आँखा र दाँत सम्बन्धी बृहत् शिविर सञ्चालन भएको हो । आजबाट तीन दिन निःशुल्क शिविर सञ्चालन हुनेछ ।

गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले भौगोलिक विकटता तथा जटिलताका कारण असहाय ,आर्थिक अभावका कारण आँखा र दन्त जाँचबाट वञ्चित नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले निशुल्क शिविर सञ्चालन गरिएको बताउनुभयो ।
आँखा र दन्तको सामान्य देखि जटिल रोग परिक्षणको लागि पनि बाहिर नै जानुपर्ने भएकोले जनताले सास्ती खेपिरहनुपरेको भन्दै जनतालाई स्थानिय सरकारले अभिभावकत्व वहन गर्ने गरी काम गरिएको उहाँको भनाई छ ।

गाउँपालिकाले जनस्वास्थ्यलाई प्राथमिकता दिदै विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ । समयमै रोग पहिचान गरि नागरिकहरूको स्वास्थ्य जोखिम न्युनिकरण गर्न सकिने तथा रोग लागेकालाई विशेषज्ञ डाक्टरहरु मार्फत सोहि शिविरमा आवश्यक उपचारको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कमल कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, ३ नम्र वडाका अध्यक्ष कुल बहादुर भोलन,५ नम्बर वडाका अध्यक्ष साइला लामा, १नम्बर वडाका अध्यक्ष जित बहादुर थिङ,कार्यपालिका सदस्य मोहनकाजी विक , शसस्त्र प्रहरी बल सिन्धुलीका डिसपी बलाराम प्रसाई,ईलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरिक्षक बेनी कार्की लगायतको उपस्थिती रहेको थियो ।
शिविरमा आँखा विशेषज्ञ डाक्टरद्धारा आँखा जाँच, मोतियाबिन्दुको बिरामीको पहिचान गरी तत्काल शल्यक्रिया, निःशुल्क चस्मा तथा औषधी वितरण गरिने छ । यसैगरी दन्त विशेषज्ञ डाक्टर मार्फत दाँत परिक्षण, सफाई गर्नुका साथै दाँत निकाल्ने, निःशुल्क औषधी वितरण तथा परामर्श प्रदान गरिने छ ।
