मेरो पत्र Logo

आफु निकट शिक्षक नपाएपछि बारा निजगढको विद्यालय मै तालाबन्दी, ४५० विद्यार्थीको बिचल्ली

Mero Patra
मेरो पत्र
ad
आफु निकट शिक्षक नपाएपछि बारा निजगढको विद्यालय मै तालाबन्दी, ४५० विद्यार्थीको बिचल्ली
adad

बारा निजगढ :सरकारले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा वृद्धिमा वर्षेनी करोडौं रकम लगानी गर्दै आएको छ । तर, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर भने अपेक्षा अनुसार सुधार हुन सकेको छैन । सामुदायिक विद्यालयमा राजनीतिक भर्ति गराउने प्रवृतिले पठनपाठन नै ठप्प हुनेसम्मका घटना भइरहेका छन् ।

सरकारी विद्यालयहरु राजनीतिक अखडा भइरहेका उदाहरण थुप्रै छन् । जसमध्ये एक बाराको निजगढ नगरपालिका वडा नम्बर १० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हो । यहाँ स्थानीय राजनीतिज्ञको इसारामा आफुले चाहेको मान्छे विद्यालयमा ल्याउन स्थानीय दबाब दिँदै गएको मंगलबारदेखि तालाबन्दीमा उत्रेका छन् । स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन सञ्चालन हुन सकेको छैन ।

निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउनुपर्ने माग स्थानीयको छ । विद्यालयमा तालाबन्दी गर्ने राजनीतिक दलका प्रतिनिधिहरुले आफुहरुको योजनामै तालाबन्दी भएको स्वीकार गर्दै आफुले चाहेको नभएमा कुनै पनि हालतमा तालाबन्दी नखोल्ने चेतावनी दिइरहेका छन् ।

यता, विद्यालय प्रशासनले भने नगर शिक्षा समितिले पदस्थापन गरेका शिक्षकहरुलाई प्राथमिकतामा राखेर हाजिर गराउनु पर्ने अवस्था रहेको बताइरहेको छ । सरुवा प्रक्रिया पनि पूरा नभएकोले शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिने विद्यालय प्रशासनले प्रष्ट बताएको छ । अधिकारीले आफू कार्यरत विद्यालयबाट सरुवा सहमति लिएको भएपनि हाजिर हुन आउने भनिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट भने कुनै सहमति लिएका छैनन् ।

स्थानीय नेताहरुले विद्यालय क्षेत्रमा यस्तो दादागिरी देखाउनु राम्रो नभएकाले यस विषयलाई समाधानको बाटोमा जानुपर्ने यहाँका जनप्रतिनिधि बताउँछन् ।

विवादको जड के ?

यस विद्यालयमा विवादको जड भनेको आफ्नो मान्छे कसरी स्थापित गराउने भन्ने नै देखिन्छ । शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेकाहरुलाई जिल्ला शिक्षा समन्वय ईकाइ बाराको सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदास्थापना गराएपछि विवादले उग्र रुप लियो । समितिबाट पदस्थापन गरिएका शिक्षकहरुलाई हाजिर नगराउन दबाब दिँदै अभिभावकहरुले प्राधानाध्यापक दिनानाथ साहको कार्यकक्षमै तालाबन्दी कायम राखेका हुन् । तालाबन्दी खोल्नेबारे खासै छलफल भएको छैन ।

विद्यालयमा यसअघि देखिनै शिक्षक पदपूर्ति गर्दा राजनीतिक दलहरुले आफू निकटको व्यक्तिलाई हेर्ने आधारमा नियुक्ति हुने गरेको पनि स्थानीय नै बताउछन् । राजनीतिक दलहरुको यो रवैयाका कारण विद्यालय क्षेत्र नै नाजुक बनिरहेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थी छन् । शिक्षक, कर्मचारी गरी १७ जना रहेका छन । तर, स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुको खिचातानीका कारण ४ सय ५० विद्यार्थीको पढाई बन्द छ ।

साभार :प्रलाद तिमल्सिना, प्रेस चित्र डटकम

सेयर गर्नुहोस्: