Skip to content

सिन्धुलीमा वरिष्ठ कलाकार जयनन्द लामा र इन्दिरा गोलेको शालिक अनावरण

सिन्धुलीमा वरिष्ठ कलाकार जयनन्द लामा र इन्दिरा गोलेको शालिक अनावरण
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको कमलामाई नगरपालिका–३ चपौलीस्थित सिन्धुली कलाघर परिसरमा हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको दिवंगत वरिष्ठ कलाकारद्वय जयनन्द लामा र इन्दिरा गोलेको शालिक हिजो सोमबार एक समारोहबीच अनावरण गरिएको छ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा निवर्तमान प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले दुवै शालिकको संयुक्त रुपमा अनावरण गर्नुभयो।

नेपाली तथा तामाङ चलचित्रमा अमिट पहिचान बनाएका वरिष्ठ कलाकार स्व. जयनन्द लामाले अभिनयसँगै गीत–संगीत क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। त्यसैगरी, हजारौं तामाङ सेलो तथा नेपाली लोकगीतमा स्वर भरेर नेपाली संगीतको उचाइ बढाउन स्व. इन्दिरा गोले गुरुङले निर्वाह गरेको भूमिकाको आज पनि संगीत क्षेत्रमा उच्च सम्मानका साथ सम्झना गरिन्छ।

गाउँपालिकाले उहाँहरूको योगदानलाई सदैव जीवन्त राख्न शालिक निर्माण गरी सिन्धुली कला घरमा स्थापना गरिएको अध्यक्ष वाइबाले बताउनुभयो। साथै, यस कार्यमा सहकार्य र सहयोग प्रदान गरेकोमा सिन्धुली कला घरप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि दाहालले वरिष्ठ कलाकारद्वयले चलचित्र र संगीत क्षेत्रमा देखाएको संघर्ष, समर्पण र योगदानले नै उहाँहरूलाई उच्च स्थानमा पुर्‍याएको उल्लेख गर्दै नयाँ पुस्ताका कलाकारहरूले उहाँहरूलाई प्रेरणाका स्रोतका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समिति सदस्य फुलमान बल, कमलामाई नगरपालिका उपप्रमुख मन्जु देबकोटा, घ्याङलेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलान, हरिहरपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्यलगायतको उपस्थिति रहेको थियो।

साथै कार्यक्रममा चर्चित तथा नवप्रवेशी कलाकारहरूले विविध सांगीतिक प्रस्तुति राखेका थिए भने सिन्धुली कला घरका कलाकारहरूले पनि विशेष प्रस्तुति पेश गरेका थिए।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Comments

1 Comment

Dalton110 4 weeks ago

Related Posts