हरिहरपुरगढी गाउँपालिका–३ घण्टे बागमती दोभान तथा वडा नं–१ गैरिगाउँको भूगोल हुँदै बग्ने तमोर खोलामा केही अज्ञात समूहहरूले बिस्फोटक पदार्थ, विद्युतीय उपकरण तथा विषादी प्रयोग गरी माछा मार्ने जस्ता अवैध क्रियाकलाप गर्दै आएको पाइएको छ। यसरी गरिने क्रियाकलापले सेरो माडी खानेपानी उपभोक्ता समितिद्वारा आपूर्ति गरिँदो खानेपानी समेत दूषित बनेको भन्दै स्थानीयवासी चिन्तित छन्।
यही समस्या समाधान तथा खोला संरक्षणका लागि आज शनिबार ६ गते हरिहरपुरगढी–३ का पूर्व वडा सदस्य रामशरण राईको अध्यक्षतामा स्थानीयवासीको भेला बसेको थियो। भेलाले रामचन्द्र पाख्रीनको नेतृत्वमा ९ सदस्यीय ‘तमोर खोला संरक्षण समिति’ गठन गरेको छ।

समितिले तमोर खोलामा हुने अवैध गतिविधि रोकथाम, नियमित अनुगमन र प्रतिबन्धित क्रियाकलापमा संलग्न व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउन निगरानी थप कडा गर्ने निर्णय गरेको छ।




