हेटौँडा–मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफ्नो व्यक्तिगत लगानीमा सडक स्ल्याब ढलान गरिदिने भएका छन् । मनहरी गाउँपालिका २ नम्बर वडास्थित कर्मचोकदेखि वडा कार्यालय जाने ६ मिटर चौडाई र २ सय मिटर लम्बाई रहेको सडक स्ल्याब ढलान गर्न गाउँपालिका अध्यक्ष कालाखेतीले शनिबार प्राविधिक जाँच गरी लागत स्टिमेट तयार गराएका छन् । स्टिमेट अनुसार सो सडक स्ल्याब ढलान गराउन २० लाख रुपैयाँ खर्च हुनेछ ।
शनिबार मनहरी २ कर्मचोकमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष कालाखेतीले अबको केहीदिनभित्रै सडक स्ल्याब ढलानको काम सुरु गरिने जानकारी दिए । जेनजी आन्दोलनपछि गाउँपालिकामा भएको भौतिक क्षतिका कारण बजेट कटौती गर्दा केही विकासे आयोजनाहरुसमेत कटौतीमा परेपछि स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै आफू र आफ्नो पहलमा निजी खर्चमै सडक स्ल्याब ढलान गराउन लागिएको अध्यक्ष कालाखेतीले बताए ।
‘कर्मचोकदेखि वडा कार्यालयसम्म जाने सडक स्ल्याब ढलान नहुँदा यहाँका स्थानीयले निकै समस्या भोगिरहेका थिए, सडकमा धुलो उड्ने कारण टोलमै प्रदूषण भएको गुनासो आइरहेको थियो । यस्तो अवस्थामा तत्काल नागरिकको समस्या समाधान गर्नुपर्छ भन्ने उद्देश्यले निजी लगानमै यो काम गर्न लागिएको हो ।’ अध्यक्ष कालाखेतीले भने । आफू जनप्रतिनिधि भएर आएपछि जनताको हरेक समस्यामा साथमै रहेको बताउँदै उनले सरकारी सेवा सुविधाको सवारी सुविधा नलिनुका साथै प्राप्त तलबभत्ता पनि जनतामै लगानी गरिएको जानकारी दिए ।
आफ्नो तलबभत्ताको रकमबाट मनहरी ५ मा एक विपन्नको घर बनाइदिएका कालाखेतीले ६ नम्बर वडामा पनि अर्को घर निर्माणको काम गरिरहेका छन् । विपन्न बालबालिकालाई छात्रवृत्ति तथा पोसाकमा पनि अध्यक्ष कालाखेतीले आफ्नो तलबभत्ताको रकम खर्च गर्दै आएका छन् । निजी लगानीमै सडक स्ल्याब ढलान घोषणा तथा लागत स्टिमेट कार्यक्रममा मनहरी २ नम्बर वडाका अध्यक्ष राजकुमार पाख्रिनले गाउँपालिका अध्यक्षबाट निजी लगानीमै सडक ढलान हुन लागेकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । गाउँपालिका अध्यक्ष कालाखेतीले गरेको कामको प्रसंशा गर्दै पाख्रिनले आगामी दिनमा पनि जनताको समस्यामा साथमै रहन आग्रह गरे ।
कार्यक्रममा भुन्द्रुङ टाँडी टोल विकास समितिकी सदस्य शान्तिमाया थिङले टोलमा गाउँपालिका अध्यक्ष कालाखेतीले निजी लगानीमै सडक स्तरीकरण हुन लागेकोमा टोलबासीका तर्फबाट आभार र धन्यवाद व्यक्त गरिन् ।
आफ्नै लगानीमा अध्यक्ष कालाखेतीले २०० मिटर बाटो स्ल्याब ढलान गर्दै

प्रकाशित:
शब्दको आकार



Comments