सिन्धुली । हरिहरपुरगढी गाउँपालिकामा आयोजित २० दिने डम्फु बनाउने सीपमूलक तालिम मङलबार एक विशेष समारोहबीच सम्पन्न भएको छ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुवप्रसाद ढकालको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका र वडास्तरीय जनप्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वाइबाले तामाङ समुदायको सांस्कृतिक पहिचान बनेको डम्फु जोगाउने कार्यमा तालिम महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। उहाँले तालिमबाट सिकेको सीपलाई आयआर्जनमा प्रयोग गर्न सकिने बताउँदै गाउँपालिकाले डम्फुको बजार विस्तारमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्य, प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष कमलकुमार राई, वडा नं १ का अध्यक्ष जितबहादुर थिङ, वडा नं २ का अध्यक्ष विश्व राई, वडा नं ५ का अध्यक्ष साईला लामा, वडा नं ६ का अध्यक्ष एकबहादुर मोक्तान, वडा नं ७ का अध्यक्ष बिचबहादुर मोक्तान, वडा नं ८ का अध्यक्ष धनबहादुर मोक्तानलगायतले सहभागिहरूलाई सफलतापूर्वक तालिम पूरा गरेकोमा बधाई ज्ञापन गरेका थिए।

उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख ढकालले तालिमप्रति सहभागी युवाहरूको उत्साह प्रशंसनीय भएको उल्लेख गर्दै जिल्लाभर विभिन्न सीपमूलक तालिम सञ्चालन गरी स्वरोजगारलाई प्रवर्द्धन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

तालिममा स्थानीय तामाङ समुदायका २० जना सहभागी रहेका थिए। प्रशिक्षक लिलाबहादुर स्याङ्तानले डम्फु बनाउने परम्परागत सीप संरक्षणमा तालिमले दिएको योगदान प्रशंसनीय रहेको बताउनुभयो।
गत भदौ १९ गते उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको आयोजनामा उद्घाटन भएको तालिमको हिजो मङलबार औपचारिक समापन गरिएको हो।



