नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा किरात देवास राई उत्थान समाज नेपालको छैटौँ सम्मेलनको उद्घाटन सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष आसमान राईले गर्नुभयो। प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी हुनुहुन्थ्यो। विशिष्ट अतिथि आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव दिवस राई, विशेष अतिथि किरात राई यायोक्खाका केन्द्रीय महासचिव भिम राई तथा नेपाल जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष सुमन राई हुनुहुन्थ्यो। कार्यक्रममा जिल्लाका अध्यक्षहरूलगायतको समेत उपस्थिति थियो।

उद्घाटन समारोहमा सांस्कृतिक झाँकीसहित नुवाकोटको विदुर नगरपालिका बट्टार बसपार्कदेखि कार्यक्रम स्थल नमस्ते पार्टी प्यालेससम्म दुई हजारभन्दा बढीको सहभागितामा र्याली परिक्रमा गरिएको थियो।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघका महासचिव दिवस राईले आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले “गोरो रङ र चिम्सो आँखा भएको मात्र राई हुन्छ भन्ने मान्यता हटिसकेको छ। हामीले हाम्रो भाषा, भेषभूषा र संस्कृति जोगायौँ भने मात्र वास्तविक राई हुन सक्छौँ,” भन्नुभयो।

त्यस्तै, प्रमुख अतिथि मन्त्री केसीले “नेपालको सामुदायिक वन आदिवासीकै हो। राई जातिको भाषा अरू जातिले जोगाउने होइन, राईले नै जोगाउनुपर्छ। आफ्नो छोरा–छोरीलाई नै भाषा सिकाइएन भने भाषा कसरी जोगिन्छ? त्यसैले हामीले हाम्रो संस्कृति र भाषा जोगाउन घरबाटै सुरुवात गर्नुपर्छ,” भन्दै भाषिक तथा सांस्कृतिक संरक्षणमा जोड दिनुभयो। साथै उहाँले आगामी दिनमा वन मन्त्रालयबाट नागरिकले सम्मानपूर्वक सेवा पाउने व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।
यसैबीच, केन्द्रका महासचिव रामकुमार राईले सम्मेलनको बन्द सत्रबाट नयाँ कार्यसमिति गठन हुने जानकारी दिनुभयो।



