मकवानपुर, भदौ ३ :मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा मंगलबार साँझ चट्याङ लाग्दा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।
मंगलबार साँझ करिब ४ः२० बजे पाल बहादुर घलानको घरमा किरिया कार्यक्रमका लागि आएका ४२ वर्षीय बिसाल ब्लोनलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा सात जना घाइते भएका छन्। घाइते हुनेमा मनहरी–६ हाङलाङका १२ वर्षीया बर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवन राप्ती नगरपालिका–११ का ४७ वर्षीय पानबहादुर मोक्तान रहेका छन्। उनीहरू सबैलाई प्रारम्भिक उपचारका लागि मनहरी अस्पताल पठाइएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी चौकी सुनाचुरीबाट प्रहरी टोली पुगेको थियो भने थप कानुनी प्रक्रिया र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीबाट पनि टोली खटाइएको मकवानपुर प्रहरीले जनाएको छ।



