हेटौंडा, साउन १८ — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने निर्णय गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो राजीनामा सार्वजनिकरूपमा घोषणा गरेका हुन्।
२०७८ साल साउन ९ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका लामा हालै सम्पन्न नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि पदबाट अलग हुने घोषणा गरेका हुन्। पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि उनले उक्त निर्णय लिएको बताइएको छ।
मुख्यमन्त्री लामाले औपचारिक राजीनामा सोमबार प्रदेश प्रमुख डा. दीपक देवकोटालाई बुझाउने तयारी गरेका छन्। स्वास्थ्य उपचारपछि प्रदेश प्रमुख देवकोटा आजमात्रै अस्पतालबाट डिस्चार्ज भएका हुन्।
लामाको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरणको तयारी सुरु भएको देखिएको छ। दलहरूबीच सहमतिको प्रयास तीव्र हुने सम्भावना छ भने सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा चासो बढ्दै गएको छ।



