पोखरामा भेटिए सिन्धुलीबाट बेपत्ता हायु परिवार





सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकैसाथ बेपत्ता भएका हायु परिवारका सदस्यहरू पोखरामा सकुशल फेला परेका छन्। यही साउन १० गते मध्यराति अचानक घर छाडेर हराएका उनीहरू पोखरा महानगरपालिका–३० गगनगौंडामा भेटिएपछि प्रहरीले आफन्तको जिम्मा लगाएको हो।
सोमबार राति फेला परेका १९ जनालाई प्रहरीले धनबहादुर र अमिस तामाङको जिम्मा लगाएको छ। जिम्मा लगाउने कार्य वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
सुरुमा १६ जना बेपत्ता भएको भनिए पनि पोखरामा फेला परेकाहरूको संख्या १९ पुगेको छ। प्रहरीले उनीहरू सबै हायु परिवारका सदस्य र नातेदार भएको पुष्टि गरेको छ। बेपत्ता भएपछि सिन्धुली, रामेछाप र कास्कीका सुरक्षा निकायहरूले संयुक्त रूपमा खोजी कार्य थालेका थिए।
स्रोतका अनुसार, हायु परिवार पोखरा पुगेर होटेलमा बसेका थिए। त्यसपछि उनीहरू गगनगौंडास्थित स्थानीय बासिन्दा सोमनाथ पौडेल र चन्द्र भण्डारीको घर पुगेका थिए। आफूहरू ज्यामी काम गर्न आएको भन्दै शरण मागेका उनीहरूले छेत्पामा बारम्बार बिरामी परेकाले गाउँ त्यागेको र अब नफर्किने बताएका थिए।
यस घटनाले गाउँबाट एकैसाथ परिवारहरूसमेत बिना जानकारी गन्तव्य परिवर्तन गर्ने प्रवृत्तिप्रति चासो समेत जगाएको छ।