मेरो पत्र Logo

हरिहरपुरगढीमा महादेव सामुदायिक वनद्वारा विभिन्न सामग्री वितरण

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीमा महादेव सामुदायिक वनद्वारा विभिन्न सामग्री वितरण
adad

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–४ स्थित महादेव सामुदायिक वन उपभोक्ता समितिले उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले विभिन्न सामग्री तथा अनुदान रकम वितरण गरेको छ।

डिभिजन वन कार्यालय मरिणका प्रमुख अजयविक्रम मानन्धरको प्रमुख आतिथ्यमा आज आयोजित एक समारोहबीच सामुदायिक वनका उपभोक्ताहरुलाई ट्यांकी, सुपानेट झुल, डस्टबिन, फलफूलका बिरुवा, पशुपालन अनुदानलगायतका सामग्री वितरण गरिएको हो।

समितिका अध्यक्ष पूर्णबहादुर लामाका अनुसार खानेपानीको समस्या झेलिरहेका १०६ घरधुरीलाई ५०० लिटर क्षमताको पानी ट्यांकी, १४४ जनालाई सुपानेट झुलडस्टबिन वितरण गरिएको छ। यस्तै, फलफूल खेती प्रवर्द्धन गर्न १४४ उपभोक्तालाई कागती, आँप, लिचीका बिरुवा (प्रत्येकमा ६/६ वटा) र ट्री गार्डसमेत वितरण गरिएको छ।

वनसम्बद्ध आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले समितिबाट छनोट गरिएका ६१ विपन्न तथा असहाय उपभोक्तालाई प्रत्येकमा १२ हजार रुपैयाँका दरले बाख्रा, बंगुर तथा राँगा पालनका लागि नगद अनुदान दिइएको छ।

यसै कार्यक्रमको अवसरमा समितिले समाजिक उत्तरदायित्व वहन गर्दै वडा नं ४ स्थित महेन्द्रझ्याडी माध्यमिक विद्यालयको गरिब, विपन्न तथा असहाय विद्यार्थी अक्षयकोषमा ४० हजार रुपैयाँसब-डिभिजन वन कार्यालय महेन्द्रझ्याडीलाई इन्भर्टर खरिदका लागि पनि ४० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन प्रमुख मानन्धरले अघिल्लो वर्ष केन्द्रबाट पुरस्कृत तथा यस वर्ष जिल्लाकै उत्कृष्ट सामुदायिक वनमा छनोट भएको महादेव सामुदायिक वनको कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले धेरै सामुदायिक वन समूहहरूले कागजमा मात्रै योजना बनाउने गरेको अवस्थामा महादेव सामुदायिक वनले जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यहरू गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो।

कार्यक्रममा समितिका पदाधिकारी, उपभोक्ता सदस्य, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सेयर गर्नुहोस्: