Skip to content

हरिहरपुरगढीमा काङ्ग्रेस त्यागी माओवादीमा प्रवेश

हरिहरपुरगढीमा काङ्ग्रेस त्यागी माओवादीमा प्रवेश
प्रकाशित:
शब्दको आकार

सिन्धुली,हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ का ३१ जना नेपाली कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेस हरिहरपुरगढी गाउँ कमिटीका सक्रिय सदस्य टिका बहादुर घलान र टेकबहादुर घलानको नेतृत्वमा ३१ जना माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

आज चिसापानीमा एक औपचारिक कार्यक्रमका बीच माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन), माओवादी केन्द्रका बागमती प्रदेश सदस्य तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा, माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटी अध्यक्ष अजित ठाडा मगरलगायतले नवप्रवेशीहरुलाई फूलमाला र अबिर लगाएर भव्यरुपमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य राजन दाहालले पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उचित जिम्मेवारी दिइने प्रतिबद्धता जनाउनुभयो । उहाँले माओवादी केन्द्रभित्र कोही कसैलाई हेप्ने, विभेदको व्यवहार गर्ने नीति नरहेको प्रस्ट पार्नुभयो । जिम्मेवारी पाउनेबित्तिकै अहंकार गर्ने, कसैलाई हेप्ने र हेपिने व्यक्ति माओवादी नहुनेसमेत उहाँले बताउनुभयो । माओवादी आफू पनि इज्जतसाथ बाँच्ने र अरुको पनि इज्जत गर्ने उहाँको भनाइ थियो ।

हरिहरपुगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले माओवादीको सरकार रहेको हरिहरपुरगढी गाउँपालिकामा माओवादीले गरेको कामबाट प्रभावित भएर विभिन्न पार्टीबाट प्रवेश गर्ने क्रम बढेको बताउनुभयो । उहाँले नयाँ तथा पुराना सबैले सहकार्य गर्दै पार्टीलाई सशक्त बनाएर परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्रमा प्रवेश गरेकाहरुले माओवादीको कामबाट प्रभावित भई स्वेच्छिकरुपमा यस पार्टीमा प्रवेश गरेको बताउनुभयो । पार्टीको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै देश र जनताको सेवामा निःस्वार्थरुपमा लाग्ने प्रतिबद्धतासमेत उहाँहरुले व्यक्त गर्नुभयो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts