प्रधानमन्त्री ओलीद्वारा चलचित्र स्टुडियो सिनेपाःको निर्माण घोषणा





प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् ।
४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ। देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।
‘सिनेपाः’ नाम राखिएको स्टुडियोको निर्माण घोषणा गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, ‘यो अत्याधुनिक स्टुडियोले नेपाली फिल्म क्षेत्रलाई बदल्छ भन्ने विश्वास लिएको छु । यो एउटा क्रान्ति हो । फिल्म क्षेत्रको युग परिवर्तन हो यो । यसमार्फत् हामी फिल्म क्षेत्रको नयाँ युगमा प्रवेश गरेका छौं ।’ उनले ‘सिनेपाः’ फिल्म क्षेत्रको मात्र नभएर सरकारको पनि सरोकारको विषय रहेको बताए ।

