सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा गाउँ कार्यपालिकाको २० औँ गाउँ सभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको सभाअध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा,८ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको उपस्थितीमा २० औँ गाउँ सभाको हिउँदे अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनको सुरुमै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले गाउँ कार्यपालिकाको कार्यालयको २० औँ गाउँ सभाको हिउँदे अधिवेशनको सुभारम्भ भएको घोषणा गर्नुभएको थियो ।
गाउँ सभामा पारित प्रस्तावहरुमा मासु प्रशोधन कारखाना स्थापनाका लागि नदी उकास जग्गा उपयोग गर्न दिने, नदी उकास जमिनहरुमा कृषि फार्म सञ्चालनका लागि अनुमति दिने, इलाका प्रहरी कार्यालय माग गर्ने, सरसफाइकर्मीको सुविधा थप गर्ने, पोस्टमार्टम सेवा सञलन गर्ने, स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्ने लगायत छन् ।

यसैगरी गाउँप्रहरीको रासनभत्ता, संघ तथा प्रदेश सरकारसमक्ष पेस गर्ने योजनाहरु, योजना संशोधन तथा रकमान्तर, कर्मचारीको तलबी प्रतिवेदनका साथै विभिन्न ऐन नियम पारित गरिएको छ ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले विकासको अवस्था, बजेटको खर्च विवरण, राजस्व सङ्कलन, कार्यक्रमको उपलब्धि, गुनासो र समस्याका बारेमा प्रष्ट्याउनु भएको थियो ।

अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को विधि र पद्धतीलाई स्थापित गरेर लैजान सकियो भने सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।




