पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या गर्ने २ जना व्यक्त्ति सार्बजनिक





पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकाे जमिनका सँधियार वीरेन्द्र रायकाे निर्देशनमा भान्सेले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार चन्द्रनगर गाउँपालिका–१, रतनपुर निवासी ४६ वर्षीय वीरेन्द्रले घटना हुनु केही दिनअघि पूर्व राज्यमन्त्रीको हत्या गरे नगद २ लाख रुपैंया दिने र व्यवसाय गर्न फर्म समेत बनाईदिने प्रलोभन देखाएपछि आफूले हत्या गरेको राम उजैनले बयानमा भनेका छन् ।
पूर्व राज्यमन्त्री रायले आफ्नो जग्गा मिचेर घर बनाएको, अन्य जग्गाहरु पनि मिचेको भन्ने आधारमा वीरेन्द्रले हत्या योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको हाे ।
आज सोमवार साँझ जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलनकाे आयोजना गरि प्रहरीले अनुसन्धानकाे प्रगती विवरण सार्वजनिक गरेको हाे ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी )रविन्द्र बहादुर सिंहका अनुसार वीरेन्द्र र विगत एक दशक देखि पूर्व राज्यमन्त्री रायको भान्सा लगायतमा सहयोगीको रुपमा काम गर्दै आएका २५ वर्षीय राम उजैनलाई नियन्त्रणमा लिएर कार्बाही प्रकृया अगाडी बढाएको छ ।
उनीहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्धामा सर्लाही जिल्ला अदालतबाट सोमवार नै १० दिनको म्याद लिएर थप अनुसन्धान अगाडी बढाईएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।प्रहरीलाई दिएको बयान अनुसार वीरेन्द्रकाे प्रलोभनपछि राम उजैनकाे हत्या भने एक्लैले गरेकाे देखिन्छ । राय निदाएको मौका छोपेर गत साउन ७ गते मध्यरातमा राम उजैनले फर्सा (कट्टा ) ले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
राति १ बजे राम उजैनले नै प्रहरी तथा गाउँलेहरुलाई खबर गरेर घटनाबारे जानकारी दिएका थिए । यसअघि राम उजैनले प्रहरीलाई घटना भएको राती ९ बजेतिर अन्य ३ जना नचिनेका मान्छे आएपछि आफू सुत्न १ तले घरको छतमा गएको र मध्यरातमा उठेर हेर्दा पूर्व राज्यमन्त्री रायको हत्या भएर मृत अवस्थामा देखेको बताएका थिए ।
प्रहरीले घटना लगतै राम उजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढीको थियो ।
बयानमा कुराहरु बाझेपछि पोलिग्राफ मेशिनबाट उनी सहित अन्य केही व्यक्तिहरुको बयान समेत परिक्षण गराईएको प्रहरी उपरीक्षक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए ।घटनाको तेस्रो दिन हत्या गर्दा राम उजैनले लगाएको सेतो गञ्जी च्यातेर ३ वटा पोको पारेर बारी छेउको बाटोतर्फ फालिएको अवस्थामा प्रहरीले बरामद् गरेको थियो ।
राम उजैनकाे कपडा फेला परेपछि प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या राम उजैनले नै गरेको एकीन सहित थप अनुसन्धान अगाडी बढाकाे थियो ।
जिल्ला प्रहरी कार्यालय मलंगवाकाे टाेली, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक मोहन यादवको टोली र केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनाको अनुसन्धानमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

