Skip to content

देवास राई भाषाको अध्ययन भाषा आयोगद्वारा सुरु

देवास राई भाषाको अध्ययन भाषा आयोगद्वारा सुरु
प्रकाशित:
शब्दको आकार

मकवानपुर। नेपालको भाषिक विविधता संरक्षण र भाषाको पहिचान तथा सूचीकरण गर्ने उद्देश्यसहित भाषा आयोगले किरात देवास राई समुदायको मातृभाषामाथि समाजभाषावैज्ञानिक अध्ययन औपचारिक रूपमा सुरू गरेको छ। बागमती गाउँपालिकाको सहकार्य तथा किरात देवास राई उत्थान समाज नेपालको संयोजन र भाषा आयाेगद्वारा आयोजित “देवास राई भाषाको समाजभाषावैज्ञानिक अध्ययन” कार्यक्रम बुधबार  मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १, माझगाउँमा सम्पन्न भएको हो।
कार्यक्रम भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको अध्यक्षता तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा आयोगका सदस्य माननीय मातृका प्रसाद पोखरेल, आयोगका निमित्त सचिव एवं भाषा विज्ञ डा. लोक बहादुर लोप्चन, भाषा विज्ञ डा. मातृका प्रसाद चालिसे, बागमती गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष कमानसिं पाख्रिन, किरात देवास राई उत्थान समाज नेपालका संरक्षक आशमान राई, केन्द्रीय अध्यक्ष श्याम बहादुर राई, केन्द्रीय पदाधिकारीहरू तथा विभिन्न जिल्लाका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष घलानले भाषा कुनै समुदायको आत्मपहिचान, संस्कृति र अस्तित्वको मेरुदण्ड भएको उल्लेख गर्दै आफ्नो मातृभाषा संरक्षण र पुस्तान्तरणमा समुदाय स्वयं सचेत र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। संविधान र प्रचलित कानुनले संघ, प्रदेश तथा स्थानीय तहका कार्यालयको कामकाजको भाषा भाषिक बहुलताका आधारमा तोक्न सक्ने व्यवस्था गरे पनि विविध कारणले बागमती गाउँपालिकामा हालसम्म सो व्यवस्था कार्यान्वयन हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो।
भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले देवास राई भाषाको पहिचान, संरक्षण र सूचीकरण आयोगको प्राथमिकताभित्र रहेको बताउँदै यस अध्ययन प्रक्रियामा देवास राई समुदायको सहयोग अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले देवास राई भाषाको थप खोज, तथ्य संकलन र अन्तरक्रियाका क्रममा पुस २२ गते उदयपुरको कटारी नगरपालिकामा समेत कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिनुभयो। सो क्रममा डोने दनुवार भाषी समुदाय भेटिए पनि देवास राई भाषा बोल्ने समुदाय भने नपाइएको तथ्यसमेत उहाँले सार्वजनिक गर्नुभयो। आज सम्पन्न अन्तरक्रिया कार्यक्रम तथा आगामी थप अध्ययनका आधारमा भाषा विज्ञहरूले विस्तृत प्रतिवेदन तयार गर्ने र उक्त प्रतिवेदनका आधारमा देवास राई भाषाको औपचारिक पहिचान तथा सूचीकरणका लागि सिफारिस गरिने अध्यक्ष डा. ठाकुरले जानकारी दिनुभयो।
कार्यक्रममा भाषा अध्ययन, पहिचान र सूचीकरणको विधि तथा प्रक्रिया सम्बन्धमा भाषा विज्ञ डा. कृष्णप्रसाद चालिसेले प्राविधिक जानकारी प्रस्तुत गर्नुभएको थियो भने आयोगका निमित्त सचिव तथा भाषा विज्ञ डा. लोक बहादुर लोप्चनले कार्यक्रमको उद्देश्य, सान्दर्भिकता र औचित्यमाथि प्रकाश पार्नुभएको थियो।  कार्यक्रमकाे सहजीकरण आयाेगका उपसचिव रमा अर्याल पन्थीले गर्नु भएकाे थियाे।
कार्यक्रममा देवास राई समुदायका ६३ जना प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। देवास राई भाषाको संरक्षण, अभिलेखीकरण र भावी पुस्तामा हस्तान्तरणका लागि यो अध्ययन ऐतिहासिक र महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

विशाल राज राई
Author
विशाल राज राई
लेखक विशाल राज राई विगत १७ वर्ष देखि मिडिया क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts