रौतहट, ८ पुष । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता जनकराज भारती चुनावी मैदानमा उत्रिने तयारीमा रहेको बुझिएको छ। पार्टीभित्र विभिन्न व्यक्तिहरूको नाम चर्चामा आए पनि अन्ततः भारतीले टिकट पाउने लगभग पक्का भएको पार्टी स्रोतले जनाएको छ।
रास्वपा केन्द्रीय स्रोतका अनुसार पार्टी सभापति रवि लामिछानेको निकट मानिने जनकराज भारती रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारीका लागि केन्द्रीय नेतृत्वको पहिलो रोजाइमा परेका छन्। केन्द्रीय नेतृत्वले संगठन विस्तार, जनसम्पर्क र सक्रियताका आधारमा भारतीलाई उपयुक्त उम्मेदवारको रूपमा मूल्यांकन गरेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना कालदेखि नै सक्रिय रूपमा राजनीतिमा लागेका भारती पार्टीका विभिन्न अभियान तथा आन्दोलनमा अग्रपंक्तिमा देखिँदै आएका छन्। सभापति रवि लामिछाने पक्राउ पर्दा उनको रिहाइको माग गर्दै पोखरामा भएको आन्दोलनमा समेत भारती निरन्तर सहभागी भएका थिए। यसले पार्टीप्रतिको उनको प्रतिबद्धता र नेतृत्वप्रतिको विश्वासलाई झल्काउने पार्टी नेताहरूको भनाइ छ।
रौतहट जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार, सदस्यता अभियान तथा विविध राजनीतिक गतिविधिमा सक्रिय भूमिका खेलेका भारतीको योगदानका कारण चन्द्रपुर नगरपालिका मात्र होइन, सिङ्गो रौतहट जिल्लामा रास्वपाको उपस्थिति मजबुत बनेको केन्द्रीय नेतृत्वको बुझाइ रहेको छ। “घन्टीमय रौतहट” बनाउन भारतीको भूमिका महत्वपूर्ण रहेको पार्टीको आन्तरिक मूल्यांकनमा उल्लेख छ।
सभापति रवि लामिछानेको ‘किचन क्याबिनेट’ सदस्यको रूपमा चिनिने भारतीले रौतहट क्षेत्र नम्बर ४ का मतदाताबीच लोकप्रिय छवि बनाएका छन्। उनको उम्मेदवारीले सबै उमेर समूहका मतदातालाई प्रभावित पार्ने र विशेषगरी जेन–जी पुस्तालाई आकर्षित गर्ने क्षमता रहेको एक रास्वपा कार्यकर्ताले बताए।
उल्लेखनीय कुरा के छ भने, भारती लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनले यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनालाई दुईपटक जिताउन निर्णायक भूमिका खेलेको स्थानीय राजनीतिक वृत्त स्मरण गर्छ। एक कांग्रेस कार्यकर्ताका अनुसार भारतीकै रणनीति, संगठन र नेतृत्वका कारण तिमल्सिना विजयी भएका थिए।
हिजो अरू उम्मेदवारलाई जिताउन भूमिका खेलेका भारती आज स्वयं चुनावी मैदानमा उत्रिन लाग्दा जित सहज हुने रास्वपाको आन्तरिक विश्लेषण रहेको छ। पार्टी केन्द्रको पहिलो रोजाइमा परेका भारतीले पनि पार्टीले जिम्मेवारी दिए आफू चुनाव लड्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।
“रौतहट क्षेत्र नम्बर ४ को समग्र विकासका लागि मसँग विशेष योजना छन्,” भारतीले भने, “जनताको विश्वास पाएर चुनाव जितेपछि ती योजनाहरूलाई व्यवहारमा उतार्न दृढतापूर्वक लाग्नेछु।” उनले सभापति रवि लामिछानेले देखेको भ्रष्टाचार मुक्त समृद्ध देशको सपना पुरा गर्न आफूले पनि सँगै हातेमालो गर्ने बताउँदै यसपटक रौतहट क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी विजयी हुने ठोकुवा गरे ।
उनको उम्मेदवारीले रौतहट–४ को राजनीतिक प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ।
रौतहट–४ बाट रास्वपाका रविका प्रिय पात्र भारती उम्मेदवार बन्ने लगभग पक्का

प्रकाशित:
शब्दको आकार



Comments