सिन्धुली — हरिहरपुरगढी गाउँपालिकाको महेन्द्रझ्याडीमा सामुदायिक औषधि पसल उद्घाटन गरिएको छ ।
हरिहरपुरगढी वडा नम्बर ४ महेन्द्रझ्याडी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ४ का वडाध्यक्ष कमलकुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबा विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान, हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि लेखनाथ दाहाल (राजन) ले महेन्द्रझ्याडी स्वास्थ्य चौकी जिल्लाका नौ वटा स्थानीय तहमध्ये नमूना स्वास्थ्य चौकीको रूपमा घोषणा भएकोमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहले आफ्नै पहलमा सामुदायिक औषधि पसल सञ्चालनमा ल्याउनु जिल्लाकै पहिलो र नमूना पहल भएको भन्दै अन्य पालिकाले पनि यस कार्यको अनुकरण गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी, गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले गाउँबासीलाई अब औषधि किन्नका लागि बाहिर धाउनुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधिबाहेक अन्य आवश्यक औषधिहरू सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सामुदायिक औषधि पसल सञ्चालनमा ल्याइएको हो ।

महेन्द्रझ्याडी सामुदायिक औषधि पसल सञ्चालनमा आउँदा स्थानीय बासिन्दाहरूले तत्काल आवश्यक औषधि गाउँमै सहज रूपमा पाउने भएका छन् ।



