बागमती: नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपाल बागमती गाउँ कमिटीले शनिबार श्रमदान गरेको छ। शनिबार बागमती गाउँपालिका वडा नम्बर ७ को विभिन्न स्थानमा श्रमदान आयोजना गरेको हो ।
वाइसीएल बागमती गाउँ कमिटीका अध्यक्ष आकाश लोप्चन दावाका अनुसार शनिबार ७ नम्बर वडा कार्यालय परिसर, शिव मन्दिर परिसर, चौरा आधारभूत विद्यालय परिसर र पाथीभरा स्वास्थ्य चौकी परिसरमा श्रमदानमार्फत सरसफाई गरिएको छ। नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, वडा नम्बर ७ का अध्यक्ष उत्तर बहादुर भोलन, नेकपा माओवादी केन्द्र बागमती गाउँकमिटी अध्यक्ष अरुण बल र वाईसीएल नेपाल मकवानपुरका अध्यक्ष मुक्ति लामा लगायतको उपस्थितिमा श्रमदान गरिएको हो ।
वाइसीएलको `श्रम तथा उत्पादनमा वाइसीएल´ कार्यक्रम अन्तर्गत देशभर श्रमदान कार्यक्रम सञ्चालन भइरहेको छ। वाइसीएल बागमती गाउँ कमिटीले यसअघि वडा नम्बर ४ स्थित स्वास्थ्य चौकी परिसरमा सरसफाई तथा ढलान कार्य, बुद्धचोक परिसरमा सरसफाई, वडा नम्बर ५ स्थित बगेरी स्वास्थ्य चौकी परिसर र खेलमैदान सरसफाई गरिएको थियो। श्रमदानमा स्थानीय सरकारको साथ पाएको पनि अध्यक्ष लोप्चनले बताउनुभयो। वाईसीएलले केही समय अघि मात्रै जेष्ठ नागरिकहरुलाई छाता वितरण कार्यक्रम तथा पालिकाभित्रमा सार्वजनिक स्थानहरुमा श्रमदानमार्फत कामहरु गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष लोप्चनको भनाई छ।



