हेटौंडा, साउन २० — बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
हेटौंडास्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनी संविधानको धारा १६८(२) बमोजिम गठबन्धनको समर्थनमा प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका हुन्।

नेपाली कांग्रेस बागमती संसदीय दलका नेता बानियाँले सोमबार कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। सोही आधारमा आज प्रदेश प्रमुख देवकोटाले उनलाई नियुक्त गरेका हुन्।
यसअघि कांग्रेसबाटै मुख्यमन्त्री बनेका बहादुरसिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा बानियाँ नियुक्त भएका हुन्। लामाले संसदीय दलको निर्वाचनमा बानियाँसँग पराजित भएपछि पदत्याग गरेका थिए।
मुख्यमन्त्री नियुक्त भएसँगै बानियाँले नेपाली कांग्रेसबाट दुई मन्त्री नियुक्त गरेका छन्। कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शिवराज अधिकारीलाई बिना विभागीय मन्त्रीको रूपमा नियुक्त गरिएको छ।
प्रदेशमा हाल १४ मन्त्रालय रहेकोमा कांग्रेसको भागमा ७ मन्त्रालय परेको छ। पहिलो चरणमा दुई मन्त्रीमात्र नियुक्त गरिएको र बाँकी मन्त्रालय मुख्यमन्त्रीले हाललाई आफैं मातहत राख्ने बताइएको छ।
नवनियुक्त मन्त्रीहरूले पनि मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री बानियाँले अब छिट्टै अन्य विभागीय मन्त्रीहरूको नियुक्ति प्रक्रिया अघि बढाउने जनाइएको छ।




